मनोरञ्जन

शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रङ्गेली’ को दृश्य २१ मिनेट घट्यो

Banner

काठमाडौं, फागुन २७-

शुक्रबार रिलिज भई सफलताका साथ देशभर चलिरहेको नेपाली चलचित्र ‘रङ्गेली’ को पुनः सम्पादन गरी लम्बाई घटाइएको छ ।

यसअघि दुई घण्टा ५१ मिनेट लम्बाई सहित हलमा प्रदर्शन भएको यो चलचित्र सोमबार बिहानैदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन गर्न लागिएको हो ।

चलचित्रका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै चलचित्र लम्बाई घटाइएको बताए । ‘दर्शकको राम्रो प्रतिक्रियाको बाबजुद चलचित्र केही लामो भएको महसुस भएको प्रतिक्रिया पनि आइरहेका छन् । यसलाई केही घटाउँदा र ‘फास्ट कटिङ’ गर्दा झनै मज्जा आउँथ्यो भन्ने टिप्पणीलाई आत्मसात् गर्दै करिब २१ मिनेट घटाइ दुई घण्टा ३० मिनेटमा झारिएको छ । निर्देशक सुवेदीले भने, ‘हामीले प्रत्यक्ष रूपमा दर्शकलाई भेट्दा चलचित्रको लम्बाई घटाउनु पर्ने सुझाव आएकोमा दर्शकको चाहना अनुरूप नै लम्बाई घटाएका हौँ । अब दर्शकको भावना अनुरूप पुनः सम्पादन भएको चलचित्र हलमा आएको छ ।’

पहिलो पटक चलचित्र निर्देशन गरेका अर्जुनले दर्शकले सुस्त र लामो लाग्ने चलचित्र हेर्न नचाहने रहेछन् भन्ने थाहा भएको बताए । उनले भने, ‘मैले पहिलो पटक चलचित्र बनाएको हुँ । दर्शकको चाहना के हुने रहेछ भनेर पनि बुझ्ने अवसर पाएको छु । मुख्य कुरा त चलचित्र बनाउन भन्दा हलमा चलाउन निकै मुस्किल रहेछ भन्ने महसुस गरेको छु ।’

रिलिजको पहिलो र दोस्रो दिन चलचित्र ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको थियो । तेस्रो दिन सोमबार पनि चलचित्रको व्यापार सन्तोषजनक नै रहेको छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सख्या बढिरहेको देखिएको छ । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>