चितवन विशेष
राप्रपा कुनै पनि गठबन्धनमा सहभागी हुँदैनः उपाध्यक्ष पाण्डे

भरतपुर,फागुन २३-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले पार्टी कुनैपनि गठबन्धन र सकारमा सहभागि नहुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा बुधबार संचारकर्मीसंग कुरा गर्दै पाण्डेले पार्टीले आन्दोलनको घोषणा गरिसकेकाले त्यसैमा केन्द्रीत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले आन्दोलनको घोषणा गरिसकेका छौं । पार्टीले निर्णय गरिसकेको छ । चैत १६ गतेदेखि हाम्रो आन्दोलन सुरु हुन्छ । हामी कुनै पनि सरकारमा कुनै पनि गठबन्धनको सरकारमा नजाने भनेर पार्टीले निर्णय गरिसकेको छ ।’ उहाँले नयाँ गठबन्धन नौलो नभएको र देशको निकासका लागि केही गर्न सक्ने अवस्था नभएको बताउनुभयो ।
चितवन क्षेत्र नम्वर ३ का सांसद समेत रहनुभएका पाण्डेले नयाँ गठबन्धनप्रति व्यङय गर्दै भन्नुभयो, वल्लो घरको नरे पल्लो घर सरे जस्तै हो । नयाँ न पुरानो गठबन्धनमा फरक छैन । गठबन्धनको कुनै लक्ष्य छैन र केही हुने अवस्था पनि छैन ।’
नेता पाण्डेले गठबन्धन अर्कमण्यता मात्र भएको भन्दै सरकार मात्र चलाउने देश नचलाउने बताउनुभयो । ‘यो देशमा आर्थिक रुपमा टाट पल्टेको छ । युवाहरु विदेश पलायन रोकिएको छैन । कुनै पनि योजना छैन । बिग्रेको परिस्थिति सुधारका लागि कुनैपनि योजना छैन । बिना मौसमको बाजा बजाउने काम भएको छ,उहाँले भन्नुभयो ।’ पाण्डेले पटक पटकको सरकार फेरबदलले देशलाई यस्तो अवस्थामा पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो व्यक्तिगत स्वार्थ पूर्तीका लागि मात्र पटक पटक सरकार परिवर्तन गरिराखेका छन् । देश धेरै नै पछाडि धकेलियो । यो आर्थिक वर्षमा आठ खर्ब पनि राजश्व उठ्ने अवस्था छैन । साढे १२ खर्ब साधारण खर्च छ । देशले धान्न सक्ने अवस्था छैन ।’
राप्रपाले जनताको अवस्था र यो व्यवस्थालाई परिवर्तनका लागि निर्णयक आन्दोलन गर्न लागेको पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दोषी यो व्यवस्था ल्याउने र चलाउने दुबै हुन् । हामी निर्णयक आन्दोलनमा लागेका छौं । मिटरव्याज पीडित, महिला, गरिब किसानका पक्षमा उभिएर उनीहरुको व्यवस्थापन गर्नुपर्छ ।’ उहाँले नागरिकका माग सम्बोधन गर्नुपर्ने समयमा सरकार बनाउने र ढाल्ने खेलमा लाग्नु बिडम्बना भएको बताउनुभयो । यो अवस्थामा पार्टीका लागि नभई जनताका लागि राप्रपाले आन्दोलन सुरु गर्न लागेको उहाँको दाबी छ ।


























