Breaking News
धादिङ बस दुर्घटनाः मृतकको संख्या ६ पुग्यो, चालक पक्राउ

धादिङ,फागुन २३-
धादिङमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस आज बिहान पाँच बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको हो।
दुर्घटनामा एक महिला र पाँच पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। प्रहरीले दुर्घटनामा ३० जनाभन्दा धेरै घाइते भएका जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन्। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा खटिएका छन्। बसचालक रुपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको सनाखत हुन बाँकी छ। बस दुर्घटनाको कारण खुलेको छैन।


























