चितवन विशेष
पञ्चशील महाबौद्ध गुम्बामा कङ्ग्युर पाठ वाचनः रनबहादुर गुरूङद्वारा प्रवचन

भरतपुर,फागुन ८-
पञ्चशील महाबौद्ध गुम्बामा जारी कङ्ग्युर (त्रिपिटक) पाठ वाचन तथा धर्म प्रवचन कार्यक्रममा मङ्गलबार बौद्ध धर्म सेवा समाज केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका धर्मगुरू खेन्पो रिम्पोछे रनबहादुर गुरूङले प्रवचन दिएका छन् ।
भरतपुर–९, शरदपुरस्थित गुम्बा परिषरमा भइरहेको कार्यक्रममा मङ्गलबार पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो । धर्म गुरू रक्षबहादुर गुरूङका अनुसार विशेष पूजाको अवसरमा गुम्बामा आई धुप बाल्नु पनि पुण्यको काम हुने हुँदा यो समयमा टाढाटाढाबाट समेत कार्यक्रममा सहभागी हुने गरेका छन् । ‘धर्मकर्म र पुण्य कामप्रति आस्था र विश्वास गर्नेहरुका लागि यो समय सबैभन्दा महत्वपूर्ण समय हो,’ उनले भने ।
यही क्रममा नियमित हुने पूजापाठले पनि निरन्तरता पाएको छ । गुम्बा व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रम संयोजक सन्तलाल गुरूङका अनुसार बुधबार पनि बौद्ध धर्म समाज केन्द्रका उपाध्यक्ष खेन्पो रिम्पोछे नरेश गुरूङद्वारा पाठ वाचन, डोल्मा तारा पूजा तथा प्रवचन हुनेछ । फागुन १२ गतेसम्म चल्ने प्रवचनमा खेन्पो रिम्पोछेहरु शीर लामा गुरूङ, सन्तोष गुरूङलगायतका धर्मगुरुहरुबाट पनि प्रवचन हुने कार्यक्रम संयोजक गुरूङले जानकारी दिए ।

























