चितवन विशेष

भ्रमण वर्षलाई लक्षित गरी सिङ्गारिँदै नारायणी किनार

Banner

निरुता विक

चितवन, माघ २२-

भरतपुर भ्रमण वर्ष–२०२४ को उद्घाटन गर्ने मिति नजिकिएसँगै नारायणी नदी किनारलाई सिङ्गार्ने काम तीव्र पारिएको छ । भरतपुर महानगरपालिकाले आगामी फागुन १८ गते तामझामका साथ भ्रमण वर्षको उद्घाटन गर्ने तयारी गरिरहेको छ । औपचारीक रुपमा भ्रमण वर्ष उद्घाटन हुने स्थल नारायणी नदी किनारका खाल्टाखुल्टीमा अहिले माटो भरेर चाइनिज दुबो लगाउने काम भइरहेको छ ।

नदी किनारलाई हरियाली तथा धुलोरहित बनाउनको लागि चाइनिज दुबो लगाइएको भरतपुर महानगरपालिकाका उपसचिव ओमप्रसाद पाण्डेले बताए । उनले भ्रमण वर्ष २०२४ लाई लक्षित गरी नारायणी किनारमा १५ सय स्क्वायर फिटमा दुबो लगाइएको नारायणी अनलाइनलाई जानकारी दिए ।

उनले भने, ‘भ्रमण वर्ष २०२४ लाई लक्षित गरी हरियाली प्रवद्र्धन गर्न र धुलोरहित बनाउनको लागी नारायणी नदी किनारमा दुबो लगाइएको छ । अबको २/३ दिनमा काम सम्पन्न हुने छ ।’ उपसचिव पाण्डेले दुबो लगाउनको लागि आठ लाख ८७ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए ।

उनले दुबो लगाउने कार्यक्रमलाई दिर्घकालिन बनाउन नसकिने बताएका छन् । उनले भने, ‘समय छोटो र बजेट अभावका कारण तत्काल दिर्घकालिन योजना सम्पन्न गर्न सकिँदैन । अहिले परीक्षणको लागि मात्र दुबो लगाइएको हो ।’ नारायणी किनारको विकास गर्नको लागि ‘सी बिच मोडल’मा गुरुयोजना बनाइएको बताउँदै उनले आगामी दिनमा स्मार्ट शौचालय, पार्क निर्माण, थप दुबो लगाउने योजना रहेको बताए ।

नारायणी नदी किनार अवलोकन गर्न आएका भरतपुर–२ क्षेत्रपुरका विजय पराजुलीले दुबो लगाउने कार्यक्रमले निरन्तरता पाए नदी किनारको सौन्दर्यकरणलाई सहयोग पुग्ने बताउँछन् । उनले किनारमा दुबो लगाउँदा धुलो उड्नबाट रोकिने बताए । उनले भने, ‘किनारमा दुबो लगाउँदा यसले धुलो नियन्त्रण गर्छ । साथै यहाँ बस्न, परिवारसँग घुम्न आउँदा बस्न, खाजा खान सहज वातावरण पनि हुन्छ ।’ एकपटक दुबो लगाएर मात्र नहुने भन्दै उनले त्यसको नियमित रेखदेख पनि गर्नुपर्ने बताए ।

क्षेत्रपुरकै कृष्ण ढकालले नारायणी नदी किनार भरतपुरबासीको सान भएको बताए । उनले नदी किनारमा लगाएको दुबोले पर्यटक भित्राउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘दिर्घकालिन रुपमा दुबो चौरमा रहन्छ रहँदैन भन्ने कुरा महत्वपूर्ण हो । बर्खामा आउने बाढिले दुबोलाई बगायो भने नोक्सान हुन्छ । यसलाई भ्रमण वर्ष लक्षित मात्र नगरी दिर्घकालीन योजना बनाउन सके धेरै नै राम्रो हुने थियो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>