चितवन विशेष
भरतपुर २२ मा फोहोर बर्गीकरण गरिने,विद्यालयको फोहोर वडा र राप्ती नदी सरसफाई अभियानले किन्ने

भरतपुर,माघ २२-
चितवनको भरतपुर महानगरपालिका २२ का विद्यालयको फोहोर बर्गीकरण गरेर मात्र व्यवस्थापन गरिने भएको छ । महानगरपालिकालाई स्वच्छ र हरियाली बनाउने कार्यक्रम अन्तर्गत वडाका विद्यालयहरुमा फोहोर बर्गीकरण गरेर व्यवस्थापन गर्न लागिएको हो । कार्यवहाक वडाध्यक्ष सूर्य बहादुर गुरुङले वडाका सबै विद्यालयमा पत्राचार गरेर विद्यालयलाई स्वच्छ र वातावरणमैत्री बनाउन कुहिने र नकुहिने तथा बेच्न मिल्ने र नमिल्ने फोहोर छुट्टाएर मात्र व्यवस्थापन गर्न भनिएको बताउनुभयो । वडाले राप्ती नदी सरसफाई अभियानसंगको साझेदारीमा फोहोर बर्गीकरण गरेर व्यवस्थापन गर्न लागेको उहाँले जानकारी दिनुभयो । वडाको अमर मावि पदमपोखरी,आधारभूत विद्यालय धनौजी,राष्ट्रिय आधारभूत विद्यालय विरेन्द्रनगर टाउन,ब्राइट स्टार आवासीय मावि कुँमिया,एभरेष्ट एकेडेमी पदमपोखरी र बाल विद्याश्रम स्कुल पट्लहरामा यो कार्यक्रम लागू हुनेछ ।
राप्ती नदी सरसफाई अभियानका संयोजक अपिल घिमिरेले वडाको फोहोर वडामा नै व्यवस्थापन गर्ने योजनाका साथ पहिलो चरणमा विद्यालयमा कार्यक्रम लागू गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कुहिने फोहोर मलको रुपमा प्रयोग गरिने र नकुहिने फोहोरको पुन प्रयोग गर्न मिल्ने र नमिल्ने छुट्टाएर व्यवस्थापन गरिने बताउनुभयो । पुन प्रयोग गर्न मिल्ने कागजलाई अभियान मार्फत हरेक शुक्रबार खरिद गरेर विद्यार्थीलाई पैसा दिइने घिमिरेले बताउनुभयो । उहाँले विद्यालाई बर्गीकरण गरेका प्रयोग गर्न मिल्ने कागजबाट हस्तकला बनाउन सिकाइने समेत जानकारी दिनुभयो । विद्यार्थीले कागज बेचेको आम्दानी इको क्लब मार्फत विद्यालयमा रचनात्मक कामका लागि खर्च गर्नेछन । उनिहरुले आम्दानीबाट बगैचा निर्माण, करेसाबारी निर्माण, गमला खरिद, भित्ते पत्रिका प्रकाशन लगायतका काम गर्न सक्ने घिमिरेले बताउनुभयो ।

























