चितवन विशेष

भरतपुरमा स्वरोजगार तालिम लिएका युवाहरुले काटे १३० जना विद्यार्थीको निःशुल्क कपाल

Banner

निरुता बि.क
चितवन, माघ १९-

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयमा १३० जना विद्यार्थीको निःशुल्क कपाल काटिएको छ । भरतपुर महानगरपालिकाले गरेको दुई महिने कपाल काट्ने तालिमअन्तर्गत रही तालिमका प्रशिक्षार्थीले बिहीबार विद्यार्थीको कपाल काटिदिएका हुन् ।

महानगरको १ देखि २९ नं वडाका बेरोजगार भएर बसेका युवालाई कपाल काट्ने तालिम दिइएको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाकी प्रमुख रोजी श्रेष्ठले नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले भनिन्, ‘समाजमा बेरोजगार भएर बसेका युवा जो विदेश जान लालाहित छन् । त्यस्ता युवालाई समेटेर स्वोरोजगार प्रवद्र्धनको लागि केश श्रृङ्गारअन्तर्गत दुई महिने कपाल काट्ने तालिम दिइएको हो ।’ कुनै पनि पेसाप्रति व्यक्तिले सम्मान गर्न सकोस् भनी कपाल काट्ने तालिम दिएको प्रमुख श्रेष्ठको भनाइ छ । उनले यस पेसा नौलो पेसा भएको बताइन् । उनले भनिन्, ‘यो पेसा नौलो पेसा पनि हो । यसबाट जिविकोपार्जन सहजै गर्न सकिन्छ । साथै यस पेसाप्रति समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउँछ ।’

महानगरले यसबाहेक व्युटिपार्लर, गुडिया बनाउने, सिलाइबुनाइ, अचार बनाउने, करेसाबारीको तालिमहरुको पनि माग गरेको उनले बताइन् । यस तालिमका प्रशिक्षक तथा सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले स्वरोजगार बनाउन स्थानीय युवालाई तालिम दिइरहेको बताए । उनले यस तालिमा रहेका प्रशिक्षार्थीले सिप सिकेपछि नेपालमै सैलुन खोलेर बस्ने योजना रहेको सुनाए । उनले प्रशिक्षार्थीलाई तालिमपछि स्वदेशमै स्वरोजगार बन्न सुझाव दिएका छन् । उनले यस तालिम २५ गते सकिने जानकारी दिए ।

नारायणी मावीका प्रधानाध्यापक रामशरण दुवाडीले महानगरले गरेको यस तालिमले युवापुस्तामा धेरै नै लाभदायी हुने अपेक्षा गरे । उनले भने,‘ यो सिप हरेक व्यक्तिलाई चाहिने कुरा हो । स्वदेशमा मात्र नभई विदेशमा पनि यस पेसाको ठूलो माग छ । यस्तै तालिमहरु स्कुलहरुमा पनि जोड्न सके धेरै नै राम्रो हुने थियो ।’ उनले यस किसिमको तालिम स्कुलमा पनि राख्नुपर्ने बताए । व्यक्तिगत सिप विकास गरेर थोरै लगानीमा मानिसहरुले आफैले व्यवसाय गर्न सक्ने भन्दै उनले यसले गर्दा युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यता हट्ने बताए ।

भरतपुर–१२ मालपोत चोक घर भएका प्रशिक्षार्थी सागर लामाले यस तालिम पश्चात स्वदेशमा नै सैलुन खोलेर बस्ने योजना रहेको बताए । उनले भने, ‘महानगरले गरेको यस तालिम धेरै नै राम्रो छ । मैले यस अघि पनि यस्तै तालिममा सहभागी भएको थिएँ । केही थप कुरा सिकिन्छ कि भनेर यस तालिममा फेरि पनि सहभागी भएँ । तालिम लिएपछि एक वर्ष जति विदेशमा थप तालिम लिएर स्वदेशमै फर्केर सैलुन खोल्ने योजना छ ।’ उनले विदेशमा एक वर्ष जति तालिम लिई स्वदेश फर्केर सैलुन खोल्ने योजना रहेको बताए ।

उनले आगामी दिनमा पनि महानगरले बेरोजगार युवाहरुको लागि सिपमूलक तालिम समय–समयमा तालिम दिइराखे युवाहरु विदेशिने क्रम रोकिने बताए । साथै युवा स्वदेशमै बसे देशको विकास पनि हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>