चितवन विशेष
भरतपुरमा तार भूमिगत गर्ने काम म्याद सकिँदा ६७ प्रतिशतमात्रै, एक वर्षसम्म म्याद थप्ने तयारी

निरुता बि.क
भरतपुर,माघ ११-
भरतपुर महानगरपालिका भित्रका मुख्य राजमार्गमा विद्युतीय तारलाई भूमिगत गराउने कार्य म्याद सकिँदा ६७ प्रतिशत मात्र सकिएको छ । नेपाल विद्युत् प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा तार भूमिगतको काम दुई वर्षभित्र सक्ने गरी ठेक्का लिएको भए पनि म्याद सकिँदा निकै कम काम सकिएको हो ।
भरतपुरमा यो परियोजनाको म्याद यही माघ ६ गते सकिसकेको छ । सडक विभाग, खानेपानी, टेलिकमलगायतका विभिन्न सरोकारवाला निकायहरुको समयमा समन्वय हुन नसक्दा काममा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरणका सहायक इन्जिनियर सन्दिप विक्रम शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘काम गर्दै जाँदा विभिन्न निकायहरुसँग समन्वय गर्दै जानुपर्ने हुन्छ । विभिन्न पाइप लाइनमा क्षति पुग्न सक्छ । यसलाई मिलाउँदै जाँदा काम समयमा सक्न कठिनाई हुन्छ ।’
सहायक इञ्जिनियर शाहले पाइप लेन र केबल लेन भूमिगतको लागि सबै काम सकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘म्याद सकिए पनि पाइप लेन र केबल लेनको काम सबै सकिएको छ । समग्र काम ६७ प्रतिशत सकिएको छ ।’ सहायक इञ्जिनियर शाहले एक वर्षसम्म म्याद थप्ने तयारी गरिएको बताउनुभयो । उहाँले भूमिगतको काम केन्द्रीय बस टर्मिनदेखि गोन्द्राङसम्म थप गरेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार केन्द्रीय बस टर्मिनदेखि गोन्द्राङसम्मको दुवैतर्फ तार भूमिगत गरिने छ । पहिला केन्द्रीय बसपार्कदेखि गोन्द्राङसम्मको बायाँतर्फ मात्र ३३ केभीलाइन भूमिगत गरिने योजना थियो भने महानगरकको पहलम केन्द्रीय बसपार्कदेखि गोन्द्राङसम्मका दुवै तर्फ भूमिगत गरिने भएको हो ।
पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भरतपुरका मुख्य सहरी क्षेत्रहरूमा ३३ केभीलाइन ३६ किलोमिटर, ११ केभीलाइन ७५ किलोमिटर, ४०० भोल्टको ७० किलोमिटर लाइनलाई भूमिगत गरिने छ । २६ किलोमिटर भूमिगत अप्टिकल फाइबर बिछ्याउने र सञ्चालनमा रहेका ट्रान्सफर्मरहरूको क्षमता बढाउने तथा नयाँ थपिने छ । परियोजना सम्पन्न गर्नका लागि सन् २०२२ को जनवरीमा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई एक अर्ब ३० करोड रुपैयाँमा ठेक्का दिइएको थियो । ठेक्का दिइएको आयोजनाको शिलान्यास सात महिनापछि गतवर्ष भदौ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो ।
प्राधिकरणले अहिले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित गरिरहेको छ । यसै कार्यक्रमलाई पोखरा र भरतपुर वितरण केन्द्र अन्तर्गत पर्ने मुख्य सहरी क्षेत्रमा बिस्तार गर्न थालिएको हो । आयोजनाको कुल लागत दुई अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
त्यसमध्ये भरतपुरको लागि एक अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन भएको हो । यो आयोजनामा एसियाली विकास बैंकको ऋण सहयोग, नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी छ । तार भूमिगत गर्ने कार्यले स्मार्ट र सुन्दर भरतपुर देखिने सहायक इन्जिनियर शाहको भनाइ छ ।
काम सकिएपछि ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित, भरपर्दो हुने आयोजनाको भनाइ छ । भूमिगत वितरण प्राणाली बिग्रिएको समयमा भने बनाउन समस्या हुने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरु नै बताउँछन् । अहिले माडीमा विद्युत् लैजानका लागि चितवन राष्ट्रिय निकुञ्जभित्र तारलाई भूमिगत बनाइएको छ । बेला बेलामा बिग्रदा बनाउन लामो समय लाग्ने गरेको छ ।
























