Breaking News
क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बनेको लिङ्देनको आरोप

काठमाडौँः माघ ९-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिस्ट, कांग्रेस लगायतका पार्टी र नेताहरुभन्दा बढी दोषी बाहुन क्षेत्र र हिन्दु भन्नेहरु नै रहेको जिकिर गरे । उनले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताए । उनले धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने जिकिर गरे ।
अध्यक्ष लिङ्देनले जनताले मत परिवर्तन नगरेसम्म हिन्दु राष्ट्र फगत नारामात्रैमा सीमित हुने बताए । उनले चुनावमा आफूले जितेपछि हिन्दु राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन आवश्यक रहेको बताए ।
उनले भने,‘नेपाललाई धर्म निरपेक्ष बनाउन जति पार्टी र नेताहरु दोषी छन्, जति विदेशीहरु दोषी छन्, त्यो भन्दा हामी हिन्दु हौँ भनेर ती पार्टीहरुलाई भोट दिने तपाईहरुको हात कम दोषी छैन । जबसम्म मत परिवर्तन गनुहुन्न, सच्याउनु हुन्न तबसम्म यो फगत नारामात्रै हुन्छ । वास्तवमा यो देशमा धर्म निरपेक्ष आउनुमा कांग्रेस, कम्युनिस्ट, यी अरु पार्टी कसैलाई दोष दिनु भन्दा पनि क्षेत्री बाहुको हात दोषी छ । आफूहरुलाई हिन्दु हौँ भन्नेहरुको हात दोषी छ । मलाई यो भन्नुमा कुनै आपत्ति छैन ।’


























