चितवन विशेष
विकास निर्माणका काममा सहकार्य गरौँः सभापति लामिछाने

भरतपुर,माघ ६-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का संघीय सांसद रवि लामिछानेले चितवनको विकासको सहकार्य गर्न स्थानीय सरकारसँग आग्रह गर्नुभएको छ । शनिबार चितवन र तनहुँको सीमा क्षेत्र भरतपुरको ठिमुरामा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको ध्यानाकर्षण सभालाई सम्बोधन गर्दै लामिछानेले कुनै दललाई नहेरी विकासको कामलाई जसले पहल गरे पनि राम्रो हो भन्ने बानीको विकास गर्नुपर्ने बताउनुभएको हो ।
लामिछानेले ठिमुरा पुल बन्न १० वर्ष लाग्नु साह्रै लज्जाजनक विषय भएको बताउँदै यसबारे आफूले खबरदारी गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा विकासमा आयोजनाहरु निकै सुस्त गतिमा निर्माण भइरहेका छन् । अब देश जसरी चलेको छ त्यसरी चल्न दिनु हुँदैन । ठिमुरा पुल एउटा उदाहरण हो । यो पुल बन्न १० वर्ष कुर्नुपर्ने थिएन ।’ लामिछानेले ठिमुरा पुल निर्माणको लागि भरतपुरकी मेयर रेनु दाहालले पनि पहल गरेको आफूले सुनेको भन्दै उहाँलाई धन्यवाद दिनुभयो ।
लामिछानेले भन्नुभयो, ‘मेयर साबले गरेको कामको सराहना गर्न म मुटु खुम्च्याउने मानिस होइन । जनताको समृद्धि र दैनिकीसँग यो पुल जोडिएको छ । विकासमा सहकार्य गरेर अगाडि बढ्नुपर्छ जस सबैले लिनुपर्छ ।’ उहाँले चितवनको सडक निर्माण, खानेपानी र विकासका आयोजनाहरुमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पुल समयमा सम्पन्न नहुँदा आफूले ध्यानाकर्षण गराएको भन्दै हत्तपत्त आफूले आफ्नो बाचा नबिर्सने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले हाम्रो चिन्ता पुल गुणस्तरीय बन्यो वा बनेन भन्ने हो । पुल निर्माणमा विभिन्न व्यक्तिले समयसमयमा फलोअप गर्नुभएको छ ।’ सांसद लामिछानेले चिल्लो सडक देखेमा भाइरल हुनुपर्ने अवस्था आउनु भनेको देश विकासमा पछाडि पर्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुल बनाउन ,बाटो बनाउन धर्ना, ११३ किलोमिटर हिँडेर ध्यानाकर्षण गराउनुपर्ने अवस्था रहनु दुःखद् विषय हो । विकसित देश अन्तरिक्षको विकासमा प्रतिस्पर्धा गर्दै छन् । हामी पानी चाहियो, सडक बन्नुप¥यो भनेर जुलुस, धर्ना र ध्यानाकर्षण गर्दै छौँ ।’
पुराना राजनीतिक दलहरुहरुले नागरिकलाई जानेर वा नजानेर उचित लाभ र सेवा दिन नसकेको आरोप लगाउनुभयो । उनीहरु स्वार्थ र लाभमा लाग्दा विकास निर्माणको काम ढिलो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब सही मानिसलाई सदनमा लिएर जाने महाअभियानमा हामी जुटेका छौँ । कोही हामीलाई सिध्याउने भन्ने अभियानमा लागेका छन् तर हामीलाई सक्नुहुन्न । हामीलाई लाभ पाउने र गुमाउने डर छैन । जुन तपाईंहरुलाई छ । हामीलाई कसैले छेक्न सक्दैन ।’
विभिन्न सञ्चार माध्यममा उहाँको बारेमा आइरहेका समाचारहरुलाई लक्षित गर्दै लामिछानेले सबैको गाली धम्की सुन्ने बानी परिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैले चोकमा बसेर गाली गरिरहेको हुन्छ, धारे हात लगाइरहेको हुन्छ । अरु पार्टीका साथीहरुलाई डर लाग्ला तर मलाई गाली र आलोचना सुन्ने मलाई बानी परिसक्यो । गाली, धम्की स्वरसम्राटको स्वर सुनेजस्तो लाग्न थालिसक्यो ।’ उहाँले २०८४ सम्म चितवनवासी भएकोले गाली र धम्कीबाट जुध्न छालालाई गैँडाको जस्तो बनाउने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले आफूहरु देश बनाउने खाका लिएर हिँडेको बताउनुभयो । उहाँले आयोजना अलपत्र पर्नुमा विकृत राजनीति र राम्रो प्रणाली बन्न नसकेर समस्या आएको बताउँदै आफूहरु महँगो निर्वाचन प्रणालीलाई चिर्दै अगाडि बढेको बताउनुभयो । डा वाग्लेले आफूहरुले देशलाई बसुँबसुँ लाग्ने बनाउने दाबी गर्नुभयो ।
























