घटना -दुर्घटना
छुटाछुटै दुर्घटनामा २० जनाको ज्यान गएपछि यसलाई सामान्य रूपमा नलिन सरकारलाई रास्वपाको ध्यानाकर्षण

काठमाडौं, माघ २-
सवारी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ। माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौंको चन्द्रागिरी र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै यसलाई सामान्य रूपमा नलिन रास्वपाले ध्यानाकर्षण गराएको हो।
रास्वपाका सचेतक निशा डागी, सहमहामन्त्री सुमना श्रेष्ठ र पूर्वधार विभागका सचिव कृष्ण भेटवालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत् दुर्घटना न्यूनीकरणका लागि दबाब दिएका हुन्।
‘त्यसअघि र पछि पनि नियमितजस्तो सवारी दुर्घटना भइरहेका छन्। र, हामीलाई दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको छ। यो वर्षको मंसिरसम्म मात्र देशभर साना–ठूला गरेर करिब १० हजार ७ सय ४५ वटा दुर्घटना भएको नेपाल प्रहरीको तथ्यांक छ। जसमा ९ सय १६ जनाले ज्यान गुमाए। दुई हजार ७ सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भए। नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर ५४ वटा दुर्घटना हुन्छन्। र, त्यसमा ६ जनाको मृत्यु हुन्छ। चौध जना गम्भीर घाइते हुन्छन्। पछिल्लो तीन वर्षमा ५८ हजार ८ सय ७८ वटा दुर्घटना हुँदा ६ हजार १ सय ६७ जनाले अकालमा ज्यान गुमाएका छन् भने १५ हजार ७ सय ७१ जना गम्भीर घाइते भए,’ रास्वपाले तथ्यांक प्रस्तुत गर्दै भनेको छ।
प्रत्येक वर्ष औसतमा २ हजार बढीले दुर्घटनामा ज्यान गुमाउने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

























