भरतपुर

पूर्व–पश्चिम रेलमार्गको लागि भरतपुर महानगरले दुई विकल्प पेश गर्‍यो

Banner

चितवन, पुस २८-
भरतपुर महानगरपालिकाले पूर्व पश्चिम रेलमार्गको दुई वटा विकल्प पेश गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज महानगरपालिकामा भएको कार्यक्रममा नेपाल सरकारका भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वाला सामु रेलमार्गको दुई वटा विकल्प पेश गरेकी हुन् ।

दाहालले वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोलाघाटबाट नवलपुर उपयुक्त विकल्प हुन सक्ने बताइन् । यसअघि प्रस्तावित रेलमार्गका रुपमा भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ हुँदै नवलपरासि तर्फ जाने भनिएको छ । यसको चितवनमा ब्यापक बिरोध भएको छ । यहाँका राजनीतिक दलदेखि नागरिक समाजले समेत बिरोध गर्न थालेका छन् । मन्त्री ज्वालसहित सरोकारवालासँगको छलफलमा प्रमुख दाहालले रेलमार्गको कार्य स्थानीयसँगको सहयोग र सहकार्यबाट टुङ्गोमा पुराउनुपर्ने धारणा राखिन् ।

‘रेल मार्गका लागि विकल्पहिन कुरा गर्न मिल्दैन, उनले भनिन् ‘अहिलेको मार्गबाट धेरै क्षति पुग्छ भने हामीले नै अर्को विकल्प दिन सक्नुपर्छ । हामी रेलवे लाईन पनि चाहियो, भरतपुरमा रेलवे लाईन नहुँदा भरतपुर विकासबाट पछि पर्ने छ ।’

प्रमुख दाहालले अहिलेको विषयलाई पुनअवलोकन हुनुप¥यो भनि छिटोभन्दा छिटो स्थानीयको माग सम्बोधन गराउने उद्देश्यले सरोकारवालाबीच छलफल कार्यक्रम राखिएको प्रष्ट पारिन् । केही दिनअघि प्रस्तावित मार्गमा रेल विभागको सर्भे गर्ने काम सुरु भएसँगै स्थानीयहरु आन्दोलित भई महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले अहिलेका लागि प्रस्तावित रेल मार्गको कार्य स्थगित भएको बताएका छन् । केही दिनमा रेल विभागको महानिर्देशकसहित प्राविधिक टोलीले विकल्प दिएका रुटको बारेमा अध्ययन गर्ने मन्त्री ज्वालाले जानकारी दिए । यस्ता आयोजनाहरु जनतासँगको छलफलको निष्कर्षपछि मात्रै अगाडि बढ्ने भएकाले तत्काल काम नहुने प्रष्ट पारे ।
छलफलका क्रममा चितवनका राजनैतिक दलका प्रमुखहरुले बिना कुनै छलफल रेलमार्गको कार्य अगाडि बढाउन नहुने मत व्यक्त गरेका थिए । उनीहरुले विकासको नाममा हुने विनाशले कुनै अर्थ नराख्ने बताए ।
कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले जनतालाई सुकुम्बासी बनाउने गरी निर्माण हुने आयोजनामा कुनै पनि सहमत हुन नसक्ने उल्लेख गरे । स्थानीयहरुको सुझाव संकलन एवम् छलफलका लागि महानगरपालिका प्रमुख दाहालको पहलमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, मन्त्रालयका सचिव केशव कुमार शर्मा र रेल विभागका महानिर्देशक रोहित कुमार बिसुरालसहितको छलफल आयोजना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>