समाचार

मुग्लिङ–आँबुखैरेनी खण्डमा मर्स्याङ्‍दी नदी पारी नयाँ सडक बनाइँदै

०
Banner

काठमाडौं, पुस २०-
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा मर्स्याङ्‍दी नदी पारी नयाँ सडक निर्माण गरिने भएको छ । मुग्लिङ–आँबुखैरेनी सडकखण्ड अन्तर्गत कुल ९ दशमलव ३८४ किलोमिटर सडक रहेको छ । जसमध्ये मर्स्याङ्‍दी नदी पारी ४ दशमलव ४५६ किलोमिटरमा नयाँ सडक निर्माण गर्न लागिएको हो । सो प्रयोजनका लागि वातावरणीय प्रभाव मूल्यांकन पूरा गरी आयोजनाले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । यो आयोजनाको सुरुवात मुग्लिङस्थित नारायणगढ चोकमा पर्छ । यहाँबाट सुरु भई तनहुँको आँबुखैरेनीमा पुगेर सम्पन्न हुन्छ ।

यो मुग्लिन–पोखरा सडक खण्डको एक खण्ड हो । आँबुखैरेनीबाट पोखरासम्म अहिले धमाधम सडक विस्तारको काम भइरहेको छ । आयोजनाका अनुसार अहिले सुचारु अवस्थामा रहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेन (एकतर्फीं) बनाइने छ । मर्स्याङ्‍दी पारी भने दुई लेन एकतर्फी बाटो बनाइने भएको छ । त्रिशूली नदी र मर्स्याङ्‍दी नदी गरी दुई स्थानमा बन्ने पुलले यो आयोजनालाई जोड्नेछ । यो आयोजनाले गोरखा जिल्लाको इच्छाकामना र शहीद लखन गाउँपालिकालाई छुने छ । आयोजनाको कुल लागत ३ अर्ब ९७ करोड ४७ लाख २१ हजार रहेको छ ।

पृथ्वी राजमार्गमा रहेको मर्स्याङ्‍दी जलविद्युत् आयोजनाको कम्पोनेन्टका कारण साविकको सडकमा विस्तार गर्न असम्भव भएसँगै यो आयोजनाका लागि मर्स्याङ्‍दी पारी नयाँ लेन बनाउन लागिएको आयोजनाले जनाएको छ । साविकको सडकमा अस्तव्यस्त भिरालो जमिन रहेको तर गोरखातर्फको भागमा सडक बनाउँदा जलविद्युत् आयोजनाका कुनै पनि भागमा क्षति पुर्‍याउन नपर्ने भन्दै नयाँ सडक बनाउन लागिएको आयोजनाको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>