कृषि

तरकारी खेतीमा व्यस्त

०
Banner

बाँके, पुस १८-

“तरकारी खेती गर्न थालेदेखि हामी यसैको मलजल र गोडमेलमा यति व्यस्त हुन्छौँ कि हामीलाई दिन बितेको पत्तै हुँदैन”, यो भनाइ हो– बाँकेको डुडुवा गाउँपालिका–६ असमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा रहेका बाल बन्दीहरूको ।

पहिला उठ्नेबित्तिकै झुण्ड बनाएर गफिने उनीहरू यतिबेला बाल सुधारगृहमा खेर गइरहेको खाली जमिन खनजोत गरी तरकारी उमार्न व्यस्त देखिन्छन् । यसै वर्षदेखि हिउँदे खेती गर्न सुरु गरेका बाल बन्दीले सुधारगृहभित्रकै खाली जमिनको सदुपयोग गरेका हुन् ।

“पहिला बिहान उठ्यो, साथीहरूसँग गफियो, खाना खायो, दिनभरि सुत्यो फेरि साँझको खाना खायो अनि फेरि सुत्यो यसै गरेर समय बित्ने गथ्र्यो ।” एक बाल बन्दीले भने, “अहिले उठ्नेबित्तिकै सुधारगृह वरपर सरसफाइ गर्दै तरकारी बारीमा गोडमेल गरेर समय बित्ने गर्दछ ।”

“पहिला हामीलाई खेल्ने वातावरण थिएन तर अहिले हामीले बाजी लगाएर विभिन्न खेल खेल्ने गर्छौँ ।” अर्का एक १६ वर्षका बाल बन्दीले भने, “हार्नेले जित्नेलाई मासु खुवाउँछन् । मासु खान पाइन्छ भनेर पनि खेलमा भाग लिन मन लाग्छ । कहिले जित्छु त कहिले हार्छु ।” पहिलाको तुलनामा हिजोआज यो सुधारगृह निकै शान्त र घरजस्तै सुरक्षित भएको उनको भनाइ थियो ।

उक्त सुधारगृहका चौकीदारले बाल बन्दीलाई बाँडफाँट गरी काम गर्न र विभिन्न प्रकाका खेलमा भाग लिन सहज होस् भन्ने उद्देश्यले बाल क्लब गठन गरिएको बताए । चौकीदार अनुसार यस गृहमा सगरमाथा, धवलागिरि, कञ्चनजङ्घा, माछापुच्छ्रे, गोदावरी, बागेश्वरी, असमानपुर, हिर्मीनियाँ, राप्ती र भेरी गरी दश बाल क्लब गठन गरिएको छ ।

एउटा बाल क्लबमा १७ देखि १८ जनासम्म बाल बन्दी छन् । क्लबमा आबद्ध बाल बन्दीले पालैपालो आफूले पाएको जिम्मेवारी पूरा गर्ने गरेको र बिहान ५ः३० बजे सुधारगृहभित्रको सरसफाइ गर्छन् भने ९ः३० बजेदेखि बाहिरी भागको सरसफाइ गर्छन् । क्लबको पालोअनुसार तरकारी र खेतबारीको पनि गोडमेल गर्ने गरेको उहाँको भनाइ थियो ।

बाल सुधारगृहकी प्रमुख बिमला काउचामगरका अनुसार बाल बन्दीले आलु, कोभी, प्याज, मुला, साग, केराउलगायत हिउँदे तरकारी लगाएर आफ्नो दैनिक कामलाई व्यस्त बनाएका छन् । उक्त तरकारी बारीमा पहिले फोहर गर्नाका साथै झाडी उम्रने गर्दथ्यो । उहाँले भन्नुभयो, “बाल बन्दीका लागि आयमूलक काम र सीपमूलक कुनै तालिमको व्यवस्था नभएको बेला उनीहरूले लगाएको तरकारी खेतीले सुधारगृहको सुन्दरता र सरसफाइमा मद्दत पुग्नुका साथै उनीहरूलाई पनि व्यस्त बनाएको छ ।”

गत असोज ४ गते बाल सुधारगृहमा भएको तोडफोड र आगजनीको घटनापछि १६ जनालाई कर्तव्य ज्यान मुद्दा चलाइएको थियो भने केहीलाई कारागार ऐनअन्तर्गतको अभियोगमा मुद्दा चलाइएको बाल सुधारगृहले जनाएको छ । उक्त घटनामा संलग्न केही बालकलाई बाल सुधारगृह नौवस्तामा सारिएपछि अहिले बाल सुधारगृह आसमानपुरमा रहेका बालक मिलेर बसेको इन्चार्ज काउचामगरले बताउनुभयो ।

उक्त गृहमा हाल दुई सय नौ जना कानुनी बिवादमा रहेका बालक रहेको पाइएको एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो । तीमध्ये तीन भारतीय बालक छन् । उहाँका अनुसार १४ देखि १५ वर्षसम्मका २९, १६ देखि १८ वर्षका ८६, १८ वर्षमाथिका ९४ जना छन् । जसमध्ये पुर्पक्षका लागि रहेका एक सय २२ र फैसला भइसकेका ८७ बाल बन्दी उक्त सुधारगृहमा छन् ।

गत असोज ४ गते गरिएको तोडफोड र आगजनीको घटनामा झ्याल, ढोका फोडिएकाले चिसो हावा कोठामा छिरेर पुसको चिसोमा बसाइँको समस्या भएको, गाडी बिग्रिएकाले अदालत, स्वास्थ्योपचारका लागि अस्पताल जान पनि समस्या भएकाले समाधानका लागि सम्बन्धित निकायबाट सहयोग उपलब्ध गराउन माग गरिएको छ ।

क्षेत्रीय कारागार नौवस्तामा रहेको बाल सुधारगृहमा हाल एक सय २६ बालक छन् । उक्त स्थानमा हाल पर्साबाट १५, हेटौँडाबाट १८, रूपन्देहीबाट १४ र बाँकेको आसमानपुर बाल सुधारगृहबाट ७९ बालकलाई लगिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>