समाचार
उत्पादनमूलक क्षेत्रमा फारम भर्न सुरु, अझै आएन कोरियाको जवाफ

काठमाडौं,पुस १७-
रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले सन् २०२३ का अनुत्तीर्ण करिब ३२ हजार परीक्षार्थीलाई सोमबारदेखि फारम भर्न सुरु गरेको छ। सिप बिल्डिङमा अनुत्तीर्ण परीक्षार्थीलाई उत्पादनमूलक क्षेत्रमा आवेदन फाराम भर्न नदिएको भन्दै युवाहरूले आन्दोलन गरेका थिए। आन्दोलनको क्रममा केही घाइते भए भने अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो।
दक्षिण कोरियाको सिप बिल्डिङमा आवेदन दिएकै कारण उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएकाहरूलाई परीक्षामा सहभागी गराउन गत शुक्रबार उच्च अदालत पाटनले आदेश दिएको थियो। अदालतले निवेदनकर्ता र इच्छुक सबै युवालाई आवेदन फाराम भर्न दिन आदेश जारी गरेकाले सोमबारदेखि आवेदन फाराम भर्न सुरु गरिएको हो।
कोरिया शाखाले अदालतको आदेशकै आधारमा सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन आह्वान गर्दै सूचना जारी गरेको थियो। तर, एचआरडी कोरियाबाट कुनै जवाफ नआएपछि थप अन्योल सिर्जना भएको छ। तर, अदालतको आदेशबारे रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी सर्भिस अफ कोरिया) बाट भने कुनै जवाफ नआएको इपिएसका अधिकारी बताउँछन्।
‘आजैदेखि तीन दिनसम्म अनलाइनमार्फत उनीहरूको आवेदन संकलन भइरहेको छ। आवेदन संकलन गरेको जानकारी एचआरडी कोरियाले पाउनेछ,’ इपिएस स्रोतले बताएको छ। अदालतको आदेशबारे एचआरडी कोरियालाई आदेश आएलगत्तै मेल पठाएको तर हालसम्म कुनै प्रतिक्रिया नआएको इपिएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले बताए।
‘अदालतको आदेशअनुसारै आवेदन माग गरेको हो। अहिले फाराम भर्न दिएका छौं। त्यो फाराम संकलन गरेर एचआरडी कोरियालाई पठाउने हो,’ श्रेष्ठले भने। इपिएस कोरिया शाखाले अदालतले दिएको आदेश मान्दै आवेदन आह्वानका लागि सूचना जारी गरेको जनाएको छ। तर एचआरडी कोरियाबाट कुनै जवाफ नआएको अधिकारीहरू बताउँछन्।नागरिक दैनिकमा खबर छ ।























