समाचार

सुन्दरहरैँचामा जङ्गली हात्ती मृत फेला

०
Banner

सुन्दरहरैँचा, पुस १६-
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सामुदायिक वनमा गोली हानी एक जङ्गली हात्ती मारिएको छ । नगरको मुनालझोडास्थित जनजागरण सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको हो ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले हात्तीको शवपरीक्षणपछि शरीरमा गोली भेटिएको बताउनुभयो । “यस बारेमा थप अनुसन्धान भइरहेको छ”, डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेले भन्नुभयो, “दोषी पत्ता लागेको खण्डमा राष्ट्रिय वन्यजन्तु संरक्षण ऐनअनुसार १५ वर्ष जेल साथै रु १० लाखसम्म जरिवाना हुनेछ ।”

आफूहरू घटनास्थलमा पुगेर कोशीटप्पु वन्यजन्तु आरक्षबाट भेटेरिनरी चिकित्साद्वारा शवपरीक्षण गराएपछि हात्तीको दाहसंस्कार गरिएको प्रमुख घिमिरेले उल्लेख गर्नुभयो । प्रहरी र वनको टोलीले घटनामा संलग्नको खोजी सुरु गरेको घिमिरेले जानकारी दिनुभयो ।

सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले गोली हानेर मारिएको हात्तीको पुच्छर गायब भएको बताउनुभयो । उहाँले हात्तीलाई गोली हानेर मारेपछि पुच्छर काटेर लगेको बताउनुभयो ।

सहायक वन अधिकृत माझीले हात्तीको देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोलीले छेडेको प्वाल भएको जानकारी दिनुभयो । भाले हात्ती लगभग १० देखि १२ वर्षसम्मको हुनसक्ने उहाँले बताउनुभयो । घटनास्थल आसपासमा बिहान बन्दुक पड्किएको आवाज सुनेको जानकारी स्थानीयले दिएका छन् ।

घटनास्थल नजिकै सामुदायिक वनको नर्सरी रहेको छ । नर्सरीभित्र रहेका बेला हात्तीमाथि गोली प्रहार भएको उल्लेख गरिएको छ । गोली लागेपछि घस्रिँदै र रन्थनिँदै तारजाली भत्काएर नर्सरीबाट निस्किएको हात्ती बाटोमा आइपुगेपछि रगत बान्ता गरेर ढलेको पाइएको सहायक वन अधिकृत माझीले उल्लेख गर्नुभयो । चोरी सिकारीमा संलग्नले हात्ती मारेको आशङ्का रहेको उहाँको भनाइ रहेको छ ।

भारतबाट नेपाल प्रवेश गरेका जङ्गली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताउनुभयो । उहाँले सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरिरहेको उल्लेख गर्नुभयो ।

पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हूल देखिने गरेको छ । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्‍याउने गरिरहेको छ । हात्तीको आक्रमणबाट विगत केही महिनायता झापामा पाँच, मोरङ र सुनसरीमा एकरएक गरेर सातजनाको मृत्यु भइसकेको प्रहरीले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>