समाचार
बालकुमारी घटनाको ‘प्रमुख कारक’ मन्त्री ज्वालाको प्रवेश

काठमाडौँ, पुस १६-
पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु र मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी हुनुको प्रमुख कारक तत्त्व भौतिक पूर्वाधार मन्त्री ज्वाला रहेको प्रारम्भिक सुरक्षा विश्लेषणबाट खुलेको छ ।
घटनापछि सरकारी पक्षले गरेको विश्लेषणमा उक्त दिन मन्त्री ज्वाला प्रदर्शन स्थलमा नगएको भए वा वैकल्पिक मार्ग प्रयोग गरेको भए त्यति गम्भीर क्षति हुनबाट जोगिन्थ्यो भन्ने निष्कर्ष निकालिएको हो ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले समेत ‘बालकुमारी घटना’ हुनुमा तीनचार वटा कारणमध्ये मन्त्री ज्वालाको प्रवेश पनि एक प्रमुख कारण रहेको बताएका हुन् । जिम्मेवार निकायको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै अनुसन्धानको सुइरो अब मन्त्री ज्वालामाथि पनि घुमाउनुपर्ने देखिएको छ ।
यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीका डीआइजी लालमणि आचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकोमा पीडितहरुले त्यसमा चित्त नबुझाएपछि सोमबारै सरकारले उक्त घटनाको निष्पक्ष छानबिनका लागि पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिसकेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पौडेल नेतृत्वको तीन सदस्यीय आयोग गठन गरेर कार्यादेश दिएको हो ।
एक महिनाको कार्यादेश पाएको आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् ।
बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्रीको सवारी हुँदा स्थिति असामान्य भएको प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको भनाइ छ । घटनाबारे जानकारी दिँदै उनले प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले १२४ सेल अश्रुग्याँस, रबर बुलेट र हवाई फायर गरेको बताए ।
‘मन्त्रीज्यू हिँड्दाखेरी पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन । भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो’, आइजीपी कुँवरले समितिमा घटना विवरण सुनाउँदै भने, ‘त्यसबेला मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन ।’
मन्त्रीलाई सुरक्षित राख्न बल प्रयोग गर्नुपरेको प्रहरी महानिरीक्षक कुँवरको भनाइ छ । घटनामा गोली कतिबेला चल्यो र कति जना घाइते भए भन्नेबारे उनले स्पष्ट बताउन सकेनन् । बालकुमारी घटनामा २ जनाको ज्यान गएको थियो । मृतक दुईमध्ये १२ः४० मा देलेखका सुजन रावत घाइते भएको र १२ः४२ मा वीरेन्द्र शाहलाई पाटन अस्पताल पु¥याएको उनले जानकारी दिए ।
सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले उक्त घटनामा अदालतको आदेशसहित ईपीएस कार्यालयको कदमका बारेमा समेत अध्ययन गर्नुपर्ने बताए ।























