चितवन विशेष

सौराहामा हात्तीको वनभोज

Banner

भरतपुर, पुस १४-

चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ । चित्रसारी मैदानमा सरकारी र नीजि ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो । बनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो ।

हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सी लगायत विभिन्न खानेकुरा खुवाइएको क्षेत्रिय होटल संघ सौराहाका उपाध्यक्ष तथा महोत्सव संयोजक ओम पाण्डले जानकारी दिनुभयो । उहाँले हात्तीलाई झण्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको बताउनुभयो ।

एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको युनाइटेड हात्ती संचालक सहकारी संस्थाका व्यवस्थापक विनोद तिमिल्सिनाले बताउनुभयो । ‘जसरी हामी पिकनिक जाँदा रमाउँछाँै, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन,उहाँले भन्नुभयो,‘ राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो ।’ उहाँले हात्तीलाई काम मात्र लगाउने होइन पालन पोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताउनुभयो । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता वढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उहाँले बताउनुभयो । मानिस र जनावरबीचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्वपूर्ण रहेको तिमिल्सीनाको भनाई छ ।

पर्यटकको आकर्षणका लागि सन् २०१४ बाट हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ । वनभोजमा हात्तीलाई खुवाउन दर्शकको भीड लागेको थियो । महोत्सव हेर्न आएका पर्यटकले वनभोज निकै आकर्षक मानेर हेरेका थिए ।

सौराहामा यसबर्ष हात्ती दौड र हात्तीका छावाबीच फुटबल आयोजना गरिएको छैन । हात्ती सुन्दरी र डुङगा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी शनिवारसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>