चितवन विशेष

सहकारी पीडितहरुका लागि अन्तिमसम्म लडाइँ लड्छुः सभापति लामिछाने

Banner

भरतपुर,पुस १२-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीका बचतकर्ताहरुको एक एक व्याजसहितको पैसा फिर्ता नभएसम्म लडाइ लडिरहने बताउनुभएको छ ।

चितवनको कालिका नगरपालिका–६ खोलेसिमलमा आज (बिहिबार) आफ्नो निर्वाचन क्षेत्रको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सभापति लामिछानेले सहकारीका विषयमा अनेकौं टिकाटिप्पणी आएको भन्दै त्यसमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘मलाई जोडेर विभिन्न कुराहरु बाहिर आएका छन् । यसमा मेरो ध्यानाकर्षण भएको छ । मेरो लडाइँमा जनतालाई सहभागी बनाउन चाहन्न । म आफैँ लड्छु ।’

उहाँले आफूले नियतबस कही कतै कसैको हिनामिना गर्ने कार्यमा संलग्नता नरहेको स्पष्ट पार्नुभयो । ‘मलाई जोडिएका सहकारीका सञ्चालकहरुलाई कारबाही गरियोस् भनेर मन्त्री ज्यूलाई पत्र दिने शाहस गरेको थिए’ उहाँले भन्नुभयो ।

सभापति लामिछानेले देशको परिस्थिति र समाजको अवस्थाका कारण विकास निर्माण र जनताका आवश्यकता पूरा गर्ने स्रोतसाधन पहुँचवालाको मुठीमा रहेको बताउनुभयो । निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउँदा काम गर्न नसकेको भन्दै उहाँले देशभरका विकास निर्माणका कामहरु प्रभावित बनेको बताउनुभयो । उहाँले जनप्रतिनिधिका हैसियतले आवाज उठाउँछु भनेर गरेको प्रतिबद्धताको निरन्तरताको लागि जनताको कठघरामा उभिएको बताउनुभयो । ‘देशको नीति निर्माण गर्ने काम सांसदको हो । नीति निर्माण गर्न हिडेको सांसदले टोलको बाटोको पनि जवाफ दिनु परेको छ’, उहाँले भन्नुभयो, ‘तर, म विमुख छैन ।’ उहाँले नीति निर्माताले जनताले विकास किन भएर भनेर कुनै पनि जनप्रतिनिधिको ढोकामा जान नपरोस् भनेर नीतिगतरुपमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सभापति लामिछानेले सार्वजनिक सुनुवाईमा आफूले गरेका र गर्न नसकेका कामहरु बारे जानकारी गराउनु भएको थियो । जिल्ला विभिन्न पालिकाका प्रतिनिधि र सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको सार्वजनिक सुनुवाईमा नागरिकले विकास निर्माणदेखि स्वास्थ्य, शिक्षा सम्मका विषयहरु उठाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>