चितवन विशेष
सेल्फीकलीलाई हात्ती सुन्दरीको उपाधि

भरतपुर,पुस ११ –
हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेको छ । सौराहामा आयोजना गरिएको १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीय सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो । सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिने हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जित्न सफल भएको निर्णयक समितिका संयोजक चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सेल्फीकलीले ५०० पूर्णाङ्कमा ३९४ अंक ल्याएर उपाधि जिल्न सफल भएको हो ।
प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली दोस्रो र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध २२ वर्षीय सम्बृद्धिकली तेस्रो भएका छन् । उनिहरुले क्रमशः ३९३ र ३५६ अंक प्राप्त गरे । सो प्रतियोगितामा लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली र चम्पाकलीले सहभागिता जनाएका थिए ।
























