चितवन विशेष

राष्ट्रिय बहिरा महासंघको अध्यक्षमा केसी निर्वाचित

Banner

भरतपुर,पुस १०-

राष्ट्रिय बहिरा महासंघको अध्यक्षमा सन्तोष केसी निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा सोमबार सम्पन्न महासंघको १० औं संघिय महाधिवेशनबाट १३१ मत प्राप्त गर्दै केसी अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी सुर्यमोहन बरालले १७ मत प्राप्त गर्नुभयो । बरिष्ठ उपाध्यक्षमा सत्यदेवी वाग्ले, महिला उपाध्यक्षमा शिखा प्रधान र महासचिवमा सिताराम ओझा निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा दिनेश पनेरु बिजयी भएको निवर्तमान अध्यक्ष केपी अधिकारीले जानकारी दिनुभयो । उहाँले महाधिवेशन मार्फत ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको बताउनुभयो ।

महाधिवेशन मार्फत बहिरा नागरिकहरुले राज्यले सरकारी निकायमा दोभाषे राख्नुपर्ने माग गरेका छन । उनिहरुले दोभाषे नहुँदा आफूहरुलाई काम गर्न असहज हुने गरेको गुनासो गरे । संविधानसभा सदस्य एवं राष्ट्रिय बहिरा महासङ्घका सल्लाहकार राघबीर जोशीले काठमाडौँ महानगरपालिकाले बहिराहरुका लागि दोभाषे राखेको भए पनि देशका अन्य पालिका र सरकारी कार्यालयमा त्यो सुविधा उपलब्ध हुन नसकेको बताउनुभयो । शिक्षामा पनि दोभाषे नहुँदा बहिरा विद्यार्थीहरुको शिक्षामा अवरोध हुन पुगेको भन्दै राज्यका हरेक क्षेत्रमा राज्यले दोभाषेको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । बहिरा नागरिकका लागि शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा समावेश गराउने गरी ऐन बनेको भए पनि त्यो कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले सार्वजनिक तथा निजी क्षेत्रले निर्माण गर्ने हरेक संरचना अपाङ्गमैत्री हुनुपर्ने भन्दै त्यसको सुरुआत कालिका नगरपालिकाबाट भएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई समेत साङ्ग व्यक्तिहरुको सरह सेवा सुविधा प्रदान गर्नु राज्यको दायित्व भएको भन्दै सेवामा हरेक नागरिकको समान पहुँच हुनुपर्ने बताउनुभयो । मुलुकमा प्रविधिको विकास धेरै अगाडि बढेको भन्दै बहिरा व्यक्तिहरुले प्रविधिको प्रयोग गर्दै आफ्ना कुराहरु राख्नेगरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

आफू बागमती प्रदेश नगरपालिका सङ्घको सहसंयोजक समेत रहेको उल्लेख गर्दै नगरप्रमुख रेग्मीले बहिरा व्यक्तिको हक अधिकारका लागि प्रदेशस्तरीय फोरमहरुमा समेत आवाज उठाउने बताउनुभयो । बहिरा व्यक्तिहरुलाई सम्बोधन गर्ने गरी विशेष कार्यक्रम ल्याउन फोरममा प्रस्ताव लिएर अगाडि जानेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो । समाजमा बहिरा व्यक्तिहरुलाई गरिने फरक व्यवहार अन्त्य तथा समान व्यवहार कायमका लागि ऐन, नियम, कार्यविधि परिवर्तन गरेर पनि अधिकार स्थापित गराउने उहाँको भनाइ छ ।

राष्ट्रिय बहिरा महासङ्घ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष केपी अधिकारीले राष्ट्रिय जनगणनाले बहिरा व्यक्तिहरुको तथ्याङ्क गलत दिएको गुनासो गर्नुभयो । राष्ट्रिय जनगणना २०७८ ले बहिरा नागरिकहरुको सङ्ख्या करिब ५२ हजार जनाएको भए पनि नेपालमा तीन लाखको हाराहारीमा बहिरा नागरिक भएको अधिकारीको भनाइ छ ।

साधारणसभाबाट आगामी वर्षका लागि नीति तथा कार्यक्रम निर्माण र पारित गरिएको छ । शनिबार उद्घाटन गरिएको साधारणसभा एवं अधिवेशन सोमबार बिहान सकिएको हो ।  महाधिवेशनमा ४९ जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षक गरी करिब ५०० जनाको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>