Breaking News

आयातलाई विस्थापन गर्न चितवनमा नेपाली काठका उत्पादन, ग्राहकको रोजाइमा पर्दै

Banner

भरतपुर,पुस ४-

नेपालमा काठबाट बनेका हेण्डीक्राफ्ट र घरका लागि चाहिने सामाग्रीहरु बर्षैनी अरबौंको आयात हुन्छ । त्यसलाई प्रतिस्थापन गर्न चितवनका व्यवसायीले उद्योग स्थापना गरेका छन् । भरतपुर महानगरपालिका–५ स्थित कैलाशनगरमा १४ जना व्यवसायी मिलेर चितवन उड क्राफ्ट प्रा.ली नामको उद्योग स्थापना गरेका छन् । उद्योगमा नेपाली काठ प्रयोग गरेर नेपाली कालिगडले नै सामाग्रीहरु बनाउने गरका छन ।
बैशाखदेखि सुरु भएको उद्योगले भदौ महिनादेखि आफ्ना उत्पादनहरु बजारमा ल्याएको छ । बजारमा ल्याएको छोटो समयमा नै नेपाली उद्योगका उत्पादनहरु ग्राहकले रुचाएका छन् । उद्योगका सञ्चालक तथा व्यवस्थापक युगराज वस्तीले नेपाली उत्पादन धेरै रुचाइएको भन्दै ग्राहकको आवश्यकता अनुसार उत्पादित बस्तु थप गर्दै लगिएको बताउनुभयो । ‘हामीले उत्पादन गरेका सामाग्रीहरु भर्खर बजारमा गइरहेका छन, वस्तीले भन्नुभयो, काठमाडौंमा गमला लगायतका उत्पादन बिक्री भइरहको छ । त्यहाँ डिलरहरूको संख्या बढाउने योजना छ ।’
उद्योगले उत्पादन गरेका सामाग्रीहरु पुस्तक पसलदेखि भाँडा पसलसम्म पाइने गरेको छ । उद्योगले मोवाइल स्टेन्ड, पेन स्टेन्ड, डाइनिङ टेबलका लागि चाहिने काँटा चम्चा, स्टडी टेबल, विभिन्न साइजका कपडा झुण्ड्याउन मिल्ने ह्याङगर, जुत्ता राख्ने ¥याक, मसला बक्स, बेलना चौका, पुस्तक ¥याक, कटिङ बोर्ड, गमला, खुर्मा बनाउने बोर्ड, खुत्रुके, गणितीय नापजाँच सम्बन्धि सामग्रीहरू, फोल्डिङ खाट सहितको सोफा लगायतका सामाग्रीहरु उद्योगले उत्पादन गरिरहेको छ ।

उद्योगले घरका लागि चाहिने ढोका, उच्च गुणस्तरका चौकोस समेत उत्पादन गरिरहेको छ । आगामी दिनमा काठका घर बनाउने योजना समेत रहेको वस्तीले बताउनुभयो । ‘काठबाट बनेका सामाग्री स्वस्थ्यकर रहेको भन्दै उहाँले वातावरण प्रदुषित गर्ने प्लास्टिकका सामाग्रीहरु प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । अहिले भान्सामा प्रयोग गरिने प्लाष्टिकका सामाग्रीलाई विस्थापन गर्नका लागि चपिङ बोर्ड, मसला बक्सपनि काठबाटै उत्पादन गरिएको छ । उद्योग लगानी गरेका व्यवसायीहरु काठको अध्ययन गरेका र यसबारे राम्रोसंग जानकार रहेका वस्तीले बताउनुभयो । नेपालमै बसेर अन्तर्राष्ट्रिय बजारसंग प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने उदेश्यका साथ काम गरिरहेको उहाँको भनाई छ । ‘नेपालका वनजंगलमा रुख ढलेर सडेर गएका छन तर उपयोगमा ल्याउन कठिन छ,उहाँले भन्नुभयो, सरकारी खरिद प्रकृया पनि झन्झटिलो छ ।’ उहाँले उद्योगलाई टिकाइराख्नका लागि सरकारले मेसिन ल्याउन र काठ खरिदमा सहजिकरण गरिदिनुपर्ने बताउनुभयो ।

उद्योगमा हाल ३५ जना रोजगारी पाएका छन् । उद्योग स्थापनाका लागि झण्डै बाह्र करोडको लागत अनुमान गरिएको उद्योगका अध्यक्ष तारा प्रसाद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिलेसम्म आठ करोड लगानी भइसकेको छ, आर्थिक मन्दीका कारण थप लगानीका लागि समस्या भइरहेको छ ।’ उहाँले तत्कालका लागि मनाङ, मुस्ताङ जस्ता चिसो ठाउँमा काठका सामाग्रीहरु पु¥याउने लक्ष्य राखिएको बताउनुभयो । आगामी दिनमा विदेश निर्यात गर्नेगरी उत्पादन गर्ने तयारी गरिएको पौडेलले बताउनुभयो । ‘नेपालमा कामदार सस्ता छन, यहाँमा सस्तोमा उत्पादन गरेरका यूरोप, अष्ट्रेलिया, अमेरिका लगायतका देशमा निर्यात गर्न सक्छौ कि भनेर मोडुलर सामाग्री उत्पादन गरिएको हो,उहाँले भन्नुभयो ।’ उद्योगमा काठलाई सिजनिङ र ट्रिटमेन्ट गर्ने छुट्टै प्लान्ट छ । त्यसले गर्दा सामानको फिनिसिङ राम्रो र बलियो हुने गरेको छ,उहाँले भन्नुभयो,यी सामाग्री प्रयोग गरेका ग्राहकले प्लाष्टिकका सामाग्री प्रयोग गर्नुहुन्न ।’ काठबाट उत्पादन भएका सामाग्रीहरु केही महंगा भएपनि बलियो र टिकाउ हुने पौडेलले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>