चितवन विशेष
चितवनमा व्यवसायीक स्ट्रबेरी खेती र अनुसन्धान

चितवन,पुस १-
चितवनमा स्ट्रबेरीको अनुसन्धानपछि व्यवसायीक खेती विस्तार गरिएको छ । सप्तरी राजविराजका शशन देवकोटाको टिमले भरतपुर महानगरपालिका–५ समिचोकमा गरेको स्ट्रबेरीको परीक्षण खेती सफल भएपछि खेती विस्तार गरिएको हो । शशनसहित आठ जनाले स्ट्रबेरीको उत्पादनमाथि अनुसन्धान समेत गरिरहेको छ । उहाँको टिममा रहेका आठ जनामध्ये पाँच जनाले कृषि नै पढेका हुन् । नेपाल एग्रोभाइन प्रालि मार्फत अमेरिकामा विकसित जातहरु इजिप्टबाट ल्याएर यहाँ लगाइएको छ । पीएचडी अध्ययन देवकोटा खेतीबाट बचेको समयलाई कृषिका विद्यार्थीहरुलाई ज्ञान बाड्न व्यस्त रहेको बताउनुहुन्छ । ‘तराइँमा स्ट्रबेरी खेती सम्भव हुँदैन भन्ने सोच परिवर्तन गर्न हामीले चितवनमा स्ट्रबेरी खेती सुरु गरेका हौँ,उहाँले भन्नुभयो, राम्रो फलेको छ । हाम्रो टिम सन्तुष्ट छ ।’ उहाँले उत्पादन राम्रो भएका कारण क्षेत्र बढाएर एक बिघामा स्ट्रबेरी खेती गरेको बताउनुभयो । छुट्टै आठ कठ्ठामा भने अनुसन्धान भइरहेको छ ।
उहाँका अनुसार बारीमा १८–२० हजार बिरुवा लगाउँदा १५ देखि २० लाख रुपैयाँको आसपास खर्च हुन्छ । भदौ महिनामा लगाइएको स्ट्रबेरी अहिले फूल्दै गरेको र पुसदेखि चैतसम्म फल टिप्न गरेको बताउँदै उहाँले भन्नुभयो,‘हाम्रो स्ट्रबेरी फार्म जिल्लाका स्थानीय आफै आएर स्ट्रबेरी टिप्न सक्ने फार्म रुपमा परिचित छ । यस बर्ष २५ देखि ३० लाख आम्दानी गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । गतबर्ष यो फर्म टिकटक लगायतका सामाजिक संजालका कारण प्रख्यात बन्यो र टिप्न जाने हरुलको भीड नै लाग्ने गरेको थियो । यसबर्ष पनि सामाजिक संजाल मार्फत बजारिकरण गरिने उहाँले बताउनुभयो ।
देवकोटाका अनुसार चितवनमा स्ट्रबेरी खेती आफूहरुको मात्रै भएकोले अहिलेसम्म बजार व्यवस्थापनमा कुनै समस्या नभएको र यस वर्षको स्ट्रबेरी बजारको अवस्था हेर्न आफूहरु आतुर रहेको बताउनुभयो । आफूहरुले ५ देखि ६ टन सम्म उत्पादन गर्ने स्ट्रबेरी भाटभाटेनी, बिगमार्ट, चौबिसकोठीका पसल, हाकिमचोकको एग्रो मार्टमा व्यापार हुँदै आएको उहाँले जानकारी दिनुभयो । आफै दैनिक रुपमा काम गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो,‘म आफूले पनि कृषि क्षेत्रमा विद्यावारिधी गर्दै रामपुर क्यामपसमा स्नातकमा कृषिका विद्यार्थीलाई पढाउने गर्छु । हरेक वर्ष वातावरणमा नयाँ नयाँ चुनौती आउने भएकोले पढेका व्यक्तिले कृषि गर्दा धेरै सहज हुनुको साथै पढेको ज्ञान खेतबारीमा उतार्नलाई विज्ञको भर पर्नु पर्दैन, उहाँले भन्नुभयो । पढेका व्यक्तिले व्यवसायिकरुपमा कृषि गर्दा निकै राम्रो आम्दानी हुने उहाँको भनाई छ । अब पढेका व्यक्तिले कृषि नगर्ने हो कृषि उत्पादन बढाउन नसकिने उहाँले बताउनुभयो ।
स्ट्रबेरी माटोको ड्याङ बनाएर रोप्ने गरिन्छ । ड्याङको चौडाइ ७० देखि ९० सेन्टिमिटरसम्मको हुन्छ । बिरुवाहरूलाई ड्याङमा ३० देखि ३५ सेन्टिमिटरको अन्तर बनाएर रोप्नुपर्ने उहाँ बताउनुहुन्छ । दुई ड्याङ बीचको दुरी कम्तिमा ४५ सेन्टिमिटर कायम गर्नुपर्छ । ‘दोमट माटोमा स्ट्रबेरीको खेती राम्रो हुन्छ’, उहाँ भन्नुहुन्छ,‘बिरुवा रोपेपछि नियमित रूपमा गोडमेल गर्नुपर्छ, बिरुवामा प्लाष्टिकको मल्च बनाएर सिँचाइ गरिन्छ ।’ उहाँका अनुसार जाडोयाममा माटोमा चिस्यान रहिरहने भएकाले फल गुलियो हुन्छ ।
























