समाचार
गोविन्द केसी धनगढी पुगेर बसे अनशन

धनगढी, मंसिर २९-
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले तीनदिन अनशनमा बस्ने बताएका छन् ।
यसअघि अनशनमा बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरे । गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने मागसमेत रहेका केसीले गेटामा नै अनशन बस्ने तयारी गरेका थिए ।
तर आफूहरुको माग विश्वविद्यालय भएकाले केसीलाई साथ दिन नसक्ने भन्दै संघर्ष समितिका सदस्यहरुले विरोध जनाएपछि उनी लक्ष्मी नारायण मन्दिरमा पुगेका हुन् । गेटामा प्रवेश गर्न नपाएपछि डा. केसी आक्रोशितसमेत भए । आफू सुदूरपश्चिमका लागि लडेको भन्दै उनले भने, ‘एक्लो देखेर पुलिस लगाउने? धम्की दिने’
डा. केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।
गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने, जनसंख्या र भौगोलिक अवस्थिति अनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने माग अगाडि सारेका छन् ।
१०० शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम सुरु विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्ड सहित कानुनी व्यवस्था गर्नेस ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने माग राखेका छन् ।























