चितवन विशेष
सहकारीले सीप मुलक तालिममा खर्च गर्नुपर्छः मन्त्री जोशी

चितवन, मंसिर २९–
बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सहकारीले बिलाशी जीवनको लागि नभई सीपमुलक तालिममा पैसा खर्च गर्नुपर्ने बताएका छन् ।
गणेशस्थान बचत तथा ऋण सहकारी लि.को ११ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री जोशीले अहिलेको लगानी बिलाशिता तर्फ केन्द्रित हुँदा सहकारीको छबि मात्र प्रश्न उठेको बताए ।
उनले भने–“सहकारीले कृषिसंगको उत्पादनमा जोड दिनुपर्छ । अनि बल्ल गाउँगाउँमा सहकारी घरघरमा भकारी भन्ने नारा सार्थक हुन्छ ।” शिक्षा र सीपमुलक तालिममा केन्द्रीत हुन उनले सहकारीहरुलाई आग्रह गरे । सहकारीले समाज विकासमा राम्रो प्रभाब छोडेको भएपनि अहिले देखिएको नकारात्मक प्रभावलाई चिर्दै अघि बढ्नुपर्ने उनको भनाई थियो । उनले भने–“केही सहकारीका संञ्चालकका कारण सबै सहकारी माथि आरोप लाग्ने गरेको छ । यसलाई चिरेर अघि बढ्नुस् ।”
संस्थाका अध्यक्ष राजन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला बचत तथा सहकारी संघ लि. अध्यक्ष विद्या कोइराला, भरतपुर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष कमल बहादुर मल्ल, वडा सदस्य भोजराज सुवेदी, संस्थाका उपाध्यक्ष भोजराज देवकोटा, सचिब मनिता सापकोटा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
























