काठमाडौँ
महानगरका मुख्य ३ समस्या सुनाउँदै समाधानको पहल गरिदिन बालेनले गरे प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं, मंसिर २९-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरका मुख्य ३ समस्या सुनाउँदै समाधानको पहल गरिदिन अपिल गरेका छन् ।
२९ औं महानगर दिवसको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित समारोहमा प्रमुख बालेनले प्रधानमन्त्री प्रचण्डलाई महानगरका मुख्य ३ समस्या सुनाउँदै समाधानको पहल गरिदिन अपिल गरेका हुन् ।
प्रमुख शाहले तीनकुनेको मुआब्जा विवाद, खोला अतिक्रमणको समस्या र फोहोरको दीर्घकालीन व्यवस्थापनको समस्या सुनाउँदै तीनै तहका सरकारबाट समाधानको पहल गर्नुपर्ने बताए ।
‘महानगरले गरेको सफलताको कुरा त थाहा नै भइरहेको हुन्छ, त्यो भन्नै पर्दैन,’ बालेनले भने, ‘विशेष गरी तीन वटा विषयमा ठूलो चुनौती रहेको छ । यसमा महानगर, प्रदेश सरकार र संघ सरकारले मिलेर समस्याको समाधान होस् ।’
बालेनले अब आफ्नो कार्यकाल साढे ३ वर्ष बाँकी रहेको भन्दै सोही अवधीमा महानगरका समस्या समाधानमा सहयोग पाउनेमा आशावादी रहेको बताए । तस्बिरः रासस























