मनोरञ्जन
बालबालिकालाई ‘एनिमल’ देखाएको भन्दै वान सिनेमाजलाई कारबाहीको माग

काठमाडौं, मंसिर १९-
बालबालिकालाई बलिउड फिल्म ‘एनिमल’ देखाएको भन्दै नयाँ बानेश्वरस्थित वान सिनेमाज हललाई चलचित्र विकास बोर्डले कारबाहीको माग गरेको छ।
सोमबार साँझ ६:३० बजे फिल्म चलिरहेको समयमा बोर्डका सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रवि अधिकारी, बक्स अफिस अधिकृत प्रविण पाण्डेलगायत हलमा चेकजाँच गर्न पुगेका थिए।
यस फिल्मलाई सेन्सर बोर्डले एडल्ट प्रमाणपत्र दिएको छ। जसअनुसार १६ वर्षमुनिका बालबालिकालाई फिल्म देखाउन पाइँदैन। नियम विपरीत बालबालिकालाई फिल्म देखाएको भन्दै बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ।
साथै बोर्डले १६ वर्ष मुनिका बालबालिकाको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो।
‘कानुन विपरीत बालबालिकालाई एडल्ट फिल्मको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ। बालबालिकालाई एडल्ट फिल्मको टिकट बिक्री नगर्न सम्पूर्ण हल सञ्चालकहरूलाई अनुरोध गर्दछौं, अनुगमन समितिका संयोजक राजु केसीले भने।’
























