चितवन विशेष

सुरु भयो गौतमबुद्ध क्रिकेट रंगशालामा सरसफाई, निर्माण कार्य छिट्टै अघि बढ्ने

Banner

चितवन, मंसिर ८–

चितवनको भरतपुर महानगरपालिका–१५ मा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सरसफाई सुरु गरिएको छ । बागमती प्रदेश सरकारले रंगशाला निर्माणका लागि बजेट विनियोजन गर्नुको साथै संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेपछि भरतपुर महानगरपालिकाको नेतृत्वमा झाडी फाड्न सुरु गरिएको हो।

सरसफाई अभियानको सुरुवात गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अलपत्र बनेको रंगशाला निर्माणलाई छिट्टै निरन्तरता दिने बताएकी छिन्।

‘बागमती प्रदेश सरकारको सहयोगमा रंगशाला निर्माणका लागि ७५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। यसमा महानगरपालिकाले ३० प्रतिशत राख्ने निर्णय छ’उनले भनिन् ‘अब छिट्टै टेण्डर आह्वान गरेर काम अगाडि बढाइन्छ ।’ उनले डिपिआरको काम अगाडि बढिसकेको बताइन् ।

बजेट अभावका कारण निर्माण कार्य अलपत्र नपर्ने समेत उनले दाबी गरेकी छिन्। ‘बागमती प्रदेशको बजेट छ । संघले यस रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरिसेको छ।केन्द्रले बजेट हाल्ने कुरामा दुविधा छैन,’ उनले भनिन् ‘प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय र खेलकुद मन्त्रालयसंग पनि कुरा भएको छ काम अगाडि बढ्छ।’ सरसफाइपछि प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता गर्ने योजना रहेको उनले बताईन्।

यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको हो।अन्य रकम थप गर्दै जाने प्रमुख दाहालले बताईन्।‘एकै पटक बजेट विनियोजन गरेर जान हाम्रो आर्थिक संकटका कारण नसकेको हो,’ उनले भनिन् ‘अहिले खेल्न मिल्ने मैदान निर्माण गर्न लागेका हौँ। आगामी बर्षमा संघ र प्रदेश सरकारले पनि बजेट विनियोजन गर्दै जानेछन्।यसअघि बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो।काम नभएर बजेट फिर्ता भएको थियो।’

सहयोग जुटाएर निर्माण गर्न लागेको रंगशाला धुर्मुश सुन्तली फाउन्डेसनले बजेट अभाव भएपछि काम रोकेको थियो।अहिले पनि रंगशालाको बक्यौता १२ करोड रहेको बताइएको छ । कानुनी प्रकृया पुरा गरेर बक्यौता रकम तिर्ने दाहालले बताईन् ।

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले सरकारले राष्ट्रिय गौरवमा राखेपछि अब हामी स्थानीय सरकार र स्थानीयहरुले पनि यसलाई आफ्नो सम्झेर सहयोग गर्नुपर्ने बताए ।

बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले निर्माण सँगसँगै सञ्चालनमा ल्याउने गरी काम गरिनु पर्ने बताए । उनले निर्माण पनि भइरहने विभिन्न खेलकुद प्रतियोगिता पनि भइरहने गरी काम अघि बढाउनुपर्ने धारणा राखे । स्थानीयहरुले पनि अब रंगशलाला बन्नेमा आफूहरु ढुक्क बनेको प्रतिक्रिया दिएका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तीस हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ। तीन अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च भएको छ । ऋण नै १२ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले रोके काम रोकेका थिए । २०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>