खेलकुद

चितवनमा जारी लेडी जेसीज कपको सेमिफाइनल समिकरण पुरा

Banner

चितवन, मंसिर ६–

चितवनमा जारी लेडी जेसीज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । आज थप तीन खेल सम्पन्न भएसँगै सेमिफाइनल पुग्ने सबै टोलीको टुङ्गो लागेको हो ।

प्रतियोगिता अन्तर्गत नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्रमा) आज सम्पन्न पहिलो खेलमा गैंडाकोट एफसीले चितवन ११ लाई ४–१ ले निराश बनाउदै सेमिफाइनलमा स्थान बनायो । गैंडाकोटलाई सहज जित दिलाउन मनमाया परियारले दुई गोल गरिन् । उनले खेलको नवौं तथा ६४ औं मिनेटमा गोल गरिन् ।

सुक्रिया मियाँले २२ तथा कप्तान प्रनिश्या वाग्लेले २८ औं मिनेटमा गोल गरिन् । चितवनका लागि प्रतिक्षा ठकुरीले एक मात्र गोल फर्काईन् । गैंडाकोटकी मनमाया प्लेयर अफ दि म्याच भईन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् ।

दोस्रो खेलमा रौतहट महिला फुटबल एकेडेमी विजयी भयो । रौतहटले बागमती खेलकुद बिकास समिति मकवानपुरलाई १–० ले हरायो । रौतहटको जितमा कप्तान रश्मीकुमारी घिसिङले २९ औं मिनेटमा एक मात्र निर्णायक गोल गरिन् । रश्मीले प्लेयर अफ दि म्याच बन्दै पाँच हजार रुपैयाँ प्राप्त गरिन् ।

तेस्रो खेलमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको सर्लाही महिला फुटबल एकेडेमी अल स्टार्स स्पोर्टस एकेडेमी धनगढीसँग पराजित भयो । धनगढीले सर्लाहीविरुद्ध ३–० को सहज जित निकायो । उसको जितमा चन्द्रा भण्डारीले दुई तथा ममता पुन मगरले एक गोल गरे ।

चन्द्राले ३५ र ६३ तथा ममताले ११ औं मिनेटमा गोल गरे । ममता प्लेयर अफ दि म्याच घोषित भईन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् । पूजा राना मगर, प्रिती राई, दीपा शाहीजस्ता ठूला नामका खेलाडी उतारे पनि सर्लाही पराजय भोग्न वाध्य भयो ।

प्रतियोगितामा बिहीबार सेमिफाइनलका दुबै खेल हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे गोकर्णेश्वर गाउँपालिका काठमाडौं र रौतहट तथा दोस्रो खेलमा दिउँसो ३ बजे गैंडाकोट र धनगढी भिड्नेछन् । मंसिर ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>