कृषि
चितवनमा हुने पहिलो कृषि वैज्ञानिक सम्मेलनको तयारी पुरा

चितवन, मंसिर ६–
चितवनको रामपुरमा हुन लागेको पहिलो कृषि वैज्ञानिक सम्मेलनको तयारी पुरा भएको छ । भोलिदेखि हुन लागेको स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको सम्मेलनको तयारी पुरा भएको कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरले आज (बुधवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म रामपुरमा हुन लागेको हो । कृषि विश्वविद्यालयका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सरोकारवाला समुदायहरुमा सूसुचित गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको सम्मलेनका संयोजक डा.ऋषिराम कट्टेलले जानकारी दिए ।
शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनको भनाई छ । सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी सयको हाराहारीमा कार्यपत्र प्रस्तुत गरिने छ । जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु प्रस्तुत गरिने छ । कार्यक्रममा जापान, ताइवान, नेदरल्यान्ड र भारतका १० वैज्ञानिकसहित तीन सय भन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले बताए । सम्मेलनको निचोडसंगै विश्वविद्यालयले आगामी दिनमा हुने अनुसन्धानको बाटो तय गर्ने अपेक्षा लिइएको छ ।
कृषि तथा वन विज्ञान विश्व विद्यालयले सन् २०१३ बाट पठनपाठन सुरु गरेको हो । अहिलेसम्म करिब ५ हजार विद्यार्थीले पठनपाठन गरेका छन् । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थी आयोजकका रुपमा रहनेछन् । सम्मेलनमा उत्कृष्ट कार्यपत्रलाई पुरस्कारको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । सम्मेलनमा ३ सयको हाराहारीमा सहभागिता रहने बताइएको छ । सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति रहने छ । साथै कृषि विश्वविद्यालयका पूर्वउपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरुको पनि उपस्थिति रहने बताइएको छ ।
























