चितवन विशेष

छठको अन्तिम तयारीः किनमेलमा व्यस्त महिला

Banner

चितवन, मंसिर ०२–
रौतहटकी प्रेमकुमारी यादव छठमा व्रत बस्न थालेको १० वर्ष पूग्यो । यसवर्ष पनि उनी व्रतको तयारीमा छिन् । यतिखेर उनी छठ पर्वलाई आवश्यक सामग्री जुटाउन नारायणगढ बजारमा व्यस्त देखिन्छिन् ।

‘अस्ताउँदो सूर्यलाई अर्घ दिन एक दिन मात्र बाँकी छ । छठमा चाहिने सामग्री किनमेल गर्न आएकी हुँ,’ शनिबार दिउँसो भरतपुर–६ गितानगरबाट नारायाणगढमा बजार किनमेल गर्न आएकी यादवले भनिन् ‘छठलाई चाहिने फलफुलदेखि पूजा सामाग्री लानु छ ।’ उनी चितवनमा पाँच बर्षदेखि बस्दै आएकी छिन् । छठका लागि शनिवार बेलुका नै खिर र रोटी पकाएर राख्ने उनले बताईन् । छठमा स्नान गर्न नारायणी नदी आउने योजना उनको छ ।

क्षेत्रपुरकी सीता चौरसिया छठमा पहिलोपटक व्रत बस्दै छिन् । उनी पनि पूजा सामाग्री किन्न शनिवार व्यस्त थिइन् । ‘पहिलोपटक व्रत बस्न लागेकी हुँ । सामान के के चाहिन्छ थाहा छैनन्,’ हाँस्दै उनले भनिन्, ‘पसले र साथीले भनेको आधारमा किनेकी छु ।’
भारत घर भएकी सीता चौरासियाले यसपटकको यतै मनाउने तयारीमा छिन् । उनलाई पनि पूजाका सामाग्री किन्न भ्याई नभ्याई थियो । ‘घरमा गएर पूजाको तयारी गर्नु छ,’ शनिवार हतारमा देखिएकी चौरासियाले भनिन्, ‘किनमेल गरेर रोटी, खिर बनाउन जाने हो ।’

छठमा बाँस र माटोका सामग्रीसँगै केरा, नरिवल, अमिलो, फलफूल, मर–मसला, धूपदीपलगायत सामान किनमेल गर्नेहरुको बजारमा निकै भिड थियो ।
अर्घ्यका लागि आवश्यक बाँसबाट बनेका डाला, टोकरी, नाङ्लालगायतका सामानसँगै माटोबाट बनेका हात्तीको आकृति, ढकनी, दियो, कलशजस्ता सामानको किनमेलमा व्रतालुहरू भेटिएका थिए ।

छठ गर्ने व्रतालुहरू सबैलाई एकै प्रकारका सामान चाहिने भएकाले त्यस्ता वस्तुहरूको माग अत्यधिक हुने गर्छ । अरू बेला बाँस र माटोका सामानको खासै बिक्री नभए पनि छठका बेला बिक्री बढ्ने गरेको व्यवसायी बताउँछन् ।

आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र बिहीबार बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठ पर्व सकिन्छ । चामल, पीठोको ठेकुवा, कसार, विभिन्न मिठाई, उखु, अदुवालगायत प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

छठको स्नानको लागि चितवनको नारायाणी नदीलाई श्रृंगार गरिएको छ । तराई सामुदायिक सेवा समिति नारायणगढले छठ पूजाका लागि घाट सम्याउने, सरसफाइ गर्ने र टेन्ट निर्माण गरिरहेको छ । समितिका पूर्व अध्यक्ष सुकेश कुमार गुप्ताले आइतबार दिउँसोसम्म सम्पन्न गर्ने काम भइरहेको बताए । उनका अनुसार शनिवार बेलुकासम्म ९० प्रतिशत काम सकिएको छ । भरतपुर महानगर र चितवन प्रशासनसँग समन्वय गरी काम गरिरहेको उनले बताए ।

नारायणी नदी किनारमा छठ मनाउन आउने भक्तजनको हरेक वर्ष उल्लेख्य उपस्थिति भइरहेकाले यस वर्ष पनि गतको तुलनामा बढी भक्तजन आउने गुप्ताले बताए । पहिले पहिले तराईवासीले मात्रै मनाउने छठ पछिल्लो समय पहाडी समुदायका मानिसले समेत पूजा गर्ने र हेर्न आउने उनको भनाइ छ । ३५ हजारको हाराहारीमा छठमा पूजा गर्न भक्तजन आउने उनको अनुमान छ ।
१६ वर्षदेखि नारायणी किनारमा व्यवस्थितरुपमा छठ पर्व मनाउन थालिएको हो । यस क्षेत्रमा नारायणी किनारसँगै माडी नगरपालिकाको रिउ, बाँदरमुढे, चितई, रतनी खोला, राप्तीको पम्फा, ढुम्री, लोथर खोला, कालिका नगरपालिकाको खगेरी, बुङ खोलामा छठको पूजा गर्ने गरिन्छ । उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य भएकाले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>