अन्तर्राष्ट्रिय
रश्मिकाको डिपफेक भिडियो मामिलामा एफआईआर दर्ता, मेटालाई पत्र

नयाँ दिल्ली, कात्तिक २६-
दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको डिपफेक भिडियो मामिलामा दिल्ली प्रहरीले एउटा एफआईआर दर्ता गराएको छ । यो मामिलालाई स्पेसल सेल पुलिसले छानबिन गर्दै छ । यही विषयमा प्रहरीले फेसबुक र इन्ष्टाग्रामको मालिक कम्पनी मेटालाई सामाजिक सञ्जालमा अभिनेत्रीको डिपफेक भिडियो शेयर गर्ने एकाउन्टको यूआरएल (युनिफर्म रिर्सोस लोकेटर) माग्दै पत्र पनि पठाएको छ ।
दिल्ली प्रहरीले सामाजिक सञ्जालमा नक्कली भिडियो शेयर गर्ने मानिसहरूको पन जानकारी मागेको छ । रश्मिका मन्दनाको भिडियोमा छेडखाडी मामिलामा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । नोभेम्बर ६ मा रश्मिका मन्दनाको डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो भिडियोमा रश्मिका जस्तै देखिने युवति लिफ्टभित्रै जाँदै गरेकी देखिन्छिन् । तर ती युवति रश्मिका नभएर जारा पटेल नाम गरेकी युवति थिइन् ।
























