Breaking News
थारु कल्याणकारिणीको चेतावनीः ‘थारुको घर भत्काउन अगुवाई गर्ने नेताहरुको घर भत्काउँछौं’
भण्डारा नहर विभाग जग्गा विवाद प्रकरणः

चितवन, कात्तिक १४–
थारु कल्याणकारिणी सभा (थाकस) चितवनले थारु समुदायको घर भत्काउन अगुवाई गर्ने जो कोहीको घर भत्काउन थारु समुदाय तयार रहेको चेतावनी दिएको छ ।
थाकस चितवनले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै बिना विकल्प थारुको घर भत्काउन अगुवाई गर्नेको नै घर भत्काउने चेतावनी दिएको हो । थाकस चितवनका सभापति ललित चौधरी र सचिव सन्तुकमार चौधरीद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘थारुको बाहुल्यता रहेको बस्तीलाई बिना विकल्प खाली गराउने नाउँमा अर्को विकल्प नभई घर टहरा भत्काउने प्रयास भए सम्बन्धी व्यक्ति वा घर भत्काउन अगुवाई गर्ने नेताहरुको घर पनि भत्काउन थारु समुदाय तयार रहेको स्पष्ट पार्न चाहन्छौं ।’
थाकसले जमिन खाली गराउने विषयमा सबैभन्दा पहिलो अर्को विकल्प व्यवस्थापन गर्न राजनीतिक दल, स्थानीय पालिका, जिल्ला प्रशासनलगायत सरोकारवालासंग माग गरेको छ । राप्ती नगरपालिकाले नहर विभागको जग्गा खाली गराउने भन्दै ९० दिनको सूचना जारी गरेर बस्ती हटाउन आह्वान गरेको छ । सो जग्गामा वि.सं.२०५० सालदेखि २२३ घरधुरी बाढीपीडित थारु समुदाय बसोबास गर्दै आइरहेको छ ।
साविक भण्डारा गाविस वडा नं.३, ४, ५ र ७ का आदिमकालदेखि स्थायी बसोबास गर्दै आइरहेका थारु समुदायका बासिन्दा २०५० साल साउन ५ गते राप्ती नदीको बाध फुटेर बाढी आउँदा विस्थापित भएका थिए । भिषण बाढीबाट जलमग्न भएका त्यहाँका २२३ घरधुरी पीडितलाई तत्काल उद्दार गरी नेपाल सरकार, राजनीतिक दल, विभिन्न संघसंस्थाको अगुवाईमा साविक भण्डारा–१ नहर विभागको जग्गामा स्थानान्तरण गरिएको थियो । त्यसबेलादेखि नै निरन्तर बसोबास गर्दै आइरहेको बासिन्दालाई राप्ती नगरपालिकाले एकाएक जग्गा खाली गराउन आह्वान गरेपछि स्थानीय झस्किएका हुन् ।
नगरपालिकाको कार्यप्रति थाकसले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै त्यहाँ बसोबास गर्ने बासिन्दालाई अर्को व्यवस्था नगरिएसम्म भोगचलन गर्दै आएको जग्गा, जमिन खाली गराउने प्रयास गरिए सिंगो थारु समुदाय त्यसको प्रतिकार गर्ने चेतावनी दिएको हो ।


























