Breaking News

तिहारसम्ममा सबै राष्ट्रिय राजमार्ग मर्मत गरिने

Banner

काठमाडौँ, कात्तिक १३-
भौतिक पूर्वाधार तथ यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडकममध्ये आधामा दसैँ पहिले नै मर्मत सकिएको र बाँकीमा तिहार अघिसम्म सकिने बताउनुभएको छ ।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकमा उहाँले मुख्य राजमार्ग र काठमाडौँ उपत्यकाका धेरै सडकमा मर्मतको काम गरिसकिएको बताउनुभयो । चाडपर्वका लागि काठमाडौँ उपत्यका बाहिरिने नागरिकलाई सहज बनाउन लागिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यात्रुले सजिलै टिकट पाएर आआफ्नो घर फर्कन पाएका छन् ।”

दसैँमा नागरिकलाई यात्रामा सहज बनाउनका लागि घटस्थापनादेखि पूर्णिमासम्म हेभी सवारीमा रोक लगाइएको र सवारी जुनसुकै मार्गमा जान सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षहरुभन्दा यो वर्ष दुर्घटना पनि कम भएको छ ।”

समितिका सभापति दीपकबहादुर सिंहले सडक निर्माण गर्दा नै कम्तीमा १०÷१२ वर्षसम्म मर्मत गर्न नपर्ने गरी गर्नुपर्ने बताउनुभयो । निर्माणाधीन सडकमा धुँवा धुलोका कारण नागरिकले धेरै हैरानी बेहोर्नुपरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “खाना खाँदा खानामै धुलोका कण र पसलेले पसल खोल्दा सामानमा धुलोनै धुलो भइरहेको छ ।”

भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँँभर पनि सडक विभाग र यातायत व्यवस्था विभागअन्तर्गतका कार्यालयले नागरिकका गुनासो सुन्ने र सम्बोधन गरेको बताउनुभयो । यो वर्ष तुलनात्मक रुपमा कम सडक दुर्घटना भएको र नागरिकले टिकट नपाउने समस्या कम भएको उहाँको दाबी थियो ।
समितिका सदस्यहरु ठाकुर गैरे, प्रदीप पौडेल, शिव नेपाली, विना लामा, डा। चन्द्रकान्त राउत, दयालबहादूर शाही, निशा डाँगी, कल्पना चौधरी, प्रतिमा गौतम, निर्मला कोइरालालगायतले सडकको खराब अवस्था र सवारी अव्यवस्थित हुँदा नागरिकले सधैँ चाडपर्वको समयमा हैरानी बेहोरिरहेको औँलयाउनुभएको थियो । नारायणगढ–बुटवल, मुग्लिन–नागढुङ्गा, सिद्धार्थ राजमार्गलगायतका सडकमा धेरै समस्या रहेको उहाँहरुले बताउनुभयो । समिति सदस्यहरुले दसैँ मनाउन जाँदा र फर्कँदा सामान्यभन्दा दोब्बर बढी समय लागेको बताउनुभयो ।

समितिले आजै ग्वार्कोस्थित फ्लाई ओभर, विस्तारका क्रममा रहेको कलङ्की–बसुन्धारा सडक र विष्णुमतीस्थित पुलको स्थलगत अवलोकन गरेको थियो ।
रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>