Uncategorized

इंग्ल्यान्ड दक्षिण अफ्रिकासंग २ सय २९ रनले पराजित

Banner

काठमाण्डौँ, कात्तिक ०४-

दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा साविक विजेता इंग्ल्यान्डमाथि २ सय २९ रनको सानदार जित हात पारेको छ । तेस्रो जितका साथ दक्षिण अफ्रिका अंक तालिकामा ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । अपराजित रहँदै समान ८ अंक भएपनि न्युजिल्यान्ड नेटरनरेटका कारण शीर्ष र भारत दोस्रो स्थानमा छ ।

जितका लागि ४ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड २२ ओभरमा १ सय ७० रनमा अल आउट भयो । यो इंग्ल्यान्डको विश्वकप इतिहासकै सवैभन्दा ठूलो हार हो । यसअघि इंग्ल्यान्ड विश्वकपमा सन् १९७५ मा भारतसँग २ सय २ रनले पराजित भएको थियो ।

इंग्ल्यान्डका लागि तीव्र गतिका बलर मार्क वुड १७ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ४३ रनमा नट आउट रहे । लुन्गी एनगिडीको तेस्रो ओभरको तेस्रो बलमा स्क्वायर लेगमा जोनी बेयरस्टो १० रनमा डुसेनबाट क्याच आउट भए । यसै ओभरको अन्तिम बलमा लेग साइडमा चौका हान्ने धुनमा जो रुट दुई रनमा डेविड मिलरबाट क्याच आउट भएका थिए ।

मार्को यानसनको छैटौं ओभरको पहिलो बलमा एज लागेर डेविड मलान ६ रनमा विकेटकिपर डि ककबाट क्याच आउट भए । आठौं ओभरमा कागिसो रबाडाको बलमा बेन स्टोक्स ५ रनमा कट एण्ड बोल्ड आउट भए । स्टोक्सले जारी विश्वकपमा पहिलो खेल खेलेका हुन् । कोट्जीकै १२ औं ओभरको पहिलो बलमा कप्तान जस बटलर १५ रनमा डि ककबाट क्याच आउट भए । एक बलपछि ह्यारी ब्रुक १७ रनमा एलबीडब्लू आउट भएपछि इंग्ल्यान्ड ६६-६ को दयनीय अवस्थामा पुग्दै जितको सम्भावना समाप्त भएको थियो ।

तर मार्क वुड र गस एटिक्सनले नवौं विकेटका लागि ३३ बलमा ७० रनको विष्फोटक साझेदारी गरेका थिए । दुबै ब्याटरले दक्षिण अफ्रिका बलरमाथि कान्टर अट्याक गरेका थिए । एटिक्सन २१ बला ७ चौकासहित ३५ रन बनाउँदै केशव महाराजको बलमा बोल्ड आउट भए ।

दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । लुन्गी एनगिडी र मार्को यानसनले समान दुई विकेट लिए । त्यसअघि वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाको जितमा मध्यक्रमका ब्याटर हेनरिक क्लासनले ६७ बलमा १२ चौका र ४ छक्कासहित १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । ओपनर रिजा हेन्ड्रीक्सलेले ७५ बलमा ९ चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए । कप्तान टेम्बा बभुमा विरामी भएछि रिजाले खेल्ने अवसर पाएका थिए । त्यो अवसरलाई उनले भरपूर्ण फाइदा उठाउँदै बभुमाको पूनरागमन नै कठिन बनाएका छन् ।

ओपनर क्विन्टन डि ककलाई दोस्रो बलमै चार रनमा गुमाएको थियो । तर त्यसपछि सानदार ब्याटिङ गर्यो । रास्सी भ्यान डर डसेनले ६१ बलमा ८ चौका सहित ६० रन बनाए । हेन्ड्रीक्स र भ्यान डर डसेनले दोस्रो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेर इनिङ सम्हालेका थिए । कप्तान एइडन मारक्रमले ४४ बलमा ४ चौकासहित ४२ रन बनाए । डेभिड मिलरले भने पाँच रन मात्र बनाउन सके । जेराल्ड कोटजीले तीन रन बनाए । मार्को यानसनले तल्लोक्रममा ४२ बलमा ३ चौका र ६ छक्कासहित ७५ रनको विष्फोटक अविजित इनिङ खेलेका थिए ।

इंग्ल्यान्डका रिस टोप्लीले ८।५ ओभरमा ८८ रन खर्चेर ३ विकेट लिए । गस एटिक्सन र आदिल राशिदले दुई दुई विकेट लिए । इंग्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग ९ विकेट र तेस्रो खेलमा अफगानिस्तानसँग ६९ रनले पराजित भएको थियो । बंगलादेशलाई इंग्ल्यान्डले १ सय ३७ रनले हराएको थियो । साविक विजेता इंग्ल्यान्डलाई सेमिफाइनलमा पुग्न अव बाँकी पाँच खेल नै जित्नुपर्ने हुन्छ । दक्षिण अफ्रिका यसअघिको खेलमा नेदरल्यान्ड्ससँग ३८ रनले स्तब्ध भएको थियो । श्रीलंकालाई १ सय २ र अष्ट्रेलियालाई १ सय ३४ रनले हराएको थियो । दक्षिण अफ्रिकाले अव २४ अक्टोबरमा बंगलादेशसँग खेल्नेछ । इंग्ल्यान्डले अव २६ अक्टोबरमा श्रीलंकासँग खेल्नेछ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>