खेलकुद

राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका अमृत श्रेष्ठलाई गृहजिल्ला चितवनमा स्वागत तथा सम्मान

Banner

चितवन, कात्तिक ४–

नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका डिफेन्डर अमृत श्रेष्ठलाई गृहजिल्ला चितवनमा सम्मान गरिएको छ । रत्ननगर नगरपालिका वडा नम्वर ६ निवासी श्रेष्ठलाई सौराहाबासीले भरतपुर विमानस्थलमै भव्य सम्मान गरेका हुन् ।

आज विहान भरतपुर विमानस्थल अवतरण गरेका श्रेष्ठलाई रेष्टुरेन्ट व्यवसायी एवं सामाजिक अगुवा गोकर्ण गिरीलगायतका व्यवसायी तथा युवाहरुले स्वागत सम्मान गरेका हुन् । राष्ट्रिय झण्डासहित पुगेका सौराहाका युवाहरुले फुलमालाले स्वागत तथा सम्मान गरेका हुन् ।

२६ वर्षीय सेन्टर डिफेन्डर अमृतले लाओसविरुद्ध फिफा विश्वकप २०२२ को छनोट अन्तर्गत पहिलो चरणको दोस्रो लेगमा डेब्युको अवसर पाएका हुन् । उनले खेलको अन्त्यतिर फरवार्ड जिलेस्पी जंग कार्कीको स्थान लिँदै सिनियर टोलीबाट पहिलो खेल खेलेका हुन्।

अग्ला कदका अमृतलाई प्रशिक्षक अनेसेले सेट पिसमा खतरा टार्न र अग्रपंक्तिमा रहेर विपक्षी डिफेन्सलाई समस्या दिने रणनीतिका साथ मैदान उतारेका थिए । खेलको इन्ज्युरी समयमा किरण चेम्जोङले गरेको सानदार बचाउपछि अमृतले नै ६ यार्ड बक्स भित्रबाट बल क्लियर गर्दै बराबरी गोलको खतरा टारेका थिए ।

अमृतले हिमालयन शेर्पा क्लबबाट ए डिभिजन लिग खेल्दै आएका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनमा उपाधि विजेता काठमाडौं रेजर्सबाट खेलेका थिए । गत सिजन ए डिभिजन लिगमा २१ खेल खेलेका उनले २ गोल समेत गरेका थिए । २०७८ सालको ए डिभिजनबाट चर्चामा आएका उनले लिगको प्रदर्शनबाट प्रशिक्षक अनेसेलाई प्रभावित पार्दै यसपटक विश्वकप छनोटमा बन्द प्रशिक्षणमा स्थान बनाएका थिए ।

एनएसएलको दोस्रो सिजनका लागि उनलाई एफसी चितवनले अक्सनमार्फत १ लाख ५० हजारमा अनुबन्धित गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>