Breaking News

हङकङ नेपालसंग ६ विकेटले पराजित

Banner

मुलपानी, कात्तिक ०२-
नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजमा हङकङलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । दोस्रो जितसँगै नेपाल फाइनल नजिक पुगेको छ ।

जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित पौडेल २० बलमा १ चौका र २ छक्कासहित २५ रनमा नट आउट रहे । निजाकत खानलाई रोहितले विजयी छक्का प्रहार गरेका थिए । ओपनर आसिफ शेखले ३४ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाए । स्पिनर एहसान खानको बलिङ सामु नेपालका शीर्षक्रमका ब्याटरले संघर्ष गरेका थिए । खानको चौथो ओभरको दोस्रो बलमा कुशल भुर्तेल ८ रनमा बोल्ड आउट भए ।

उनकै बलमा कुशल मल्ल १ रनमा बोल्ड आउट भए । सन्दीप जोरा पनि एहसान खानकै बलमा ३ रनमा बोल्ड आउट भएका थिए । गुलशन झा ५ बलमा २ छक्कासहित १४ रनमा नट आउट रहे । हङकङका एहसान खानले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । यासिम मुर्तजाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको थियो । नेपालको बलिङ सामु हङकङका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । मध्यक्रमका ब्याटरले यासिम मुर्तजाले ३६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए । पहिलो बलमै कप्तानलाई गुमाएको हङकङ त्यसपछि लगातार विकेट खस्दा सामान्य स्कोरमा सिमित हुन पुग्यो । उनी अभिनाश बोहोराको ५० औं टि-२०आई विकेट बनेका थिए ।

इनिङको पहिलो बलमै करणको इनस्वींग बलमा कप्तान निजाकत बोल्ड भएका थिए । त्यसपछि तीव्र गतिका बलरले लगातार विकेट लिएपछि शीर्षक्रम धराशायी बनेको थियो । तेस्रो ओभरको तेस्रो बलमा अंशुमन रथ करणकै बलमा कट बिहाईन्ड भए । चौथो ओभरको अन्तिम बलमा सोमपाल कामीले २ रन जोडेका मार्टिन कोट्जीलाई बोल्ड गरे । पाँचौ ओभरमा बाबर हायातले ठूलो सट खेल्दा कुशल भुर्तेलको हातबाट क्याच भए । करणको बलमा मिड अफमा कुशलले डाइभ दिँदै उत्कृष्ट क्याच गरे ।

एक समय ३३.५ को स्थितिमा रहेको हङकङलाई मुर्तजा र जिशान अलीले ३० रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याए । जिशानले २० बलमा २ चौकासहित १७ रन जोडे । उनी श्यामको राष्ट्रिय टोली करिअरको पहिलो शिकार बने । हङकङका ९ ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् । नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनलाई अभिनाश बोहोराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १/१ विकेट लिए । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>