समाचार

इंग्ल्यान्डमाथि अफगानिस्तानको ऐतिहासिक जित

Banner

काठमाण्डौँ, असोज २८-
अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा साविक विजेता इंग्ल्यान्डमाथि ६९ रनको ऐतिहासिक जित हात पारेको छ । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता इंग्ल्यान्डलाई हराएको छ ।

जितको लागि २ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४०.३ ओभरमा २ सय १५ रनमा अल आउट भयो । इंग्ल्यान्डका ह्यारी ब्रुकले ६१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६६ रन बनाए । तर त्यो जितको लागि पर्याप्त थिएन । ब्रुक बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका स्पिनरले उत्कृष्ट ब्याटिङ लाइनअप भएको इंग्ल्यान्डलाई सुरुवात देखी नै दबाबमा राखेका थिए ।

तीव्र गतिका बलर फजलहक फारुकीले दोस्रो ओभरको पहिलो बलमा ओपनर जोनी बेयरस्टोलाई २ रनमा एलबीडब्लू आउट गरे । सातौं ओभरको पाँचौं बलमा मुजिब उर रहमानले जो रुटलाई ११ रनमा बोल्ड आउट गरे । त्यसपछि इंग्ल्यान्ड दबाबमा आउँदा खुलेर रन बनाउन सकेन ।

डेविड मलान ३९ बलमा ४ चौकासहित ३२ रनमा आउट भए । स्पिनर मोहम्मद नाबीले मलानलाई एक्स्ट्रा कभरमा इब्राहिम जद्रानबाट क्याच आउट भए । तीव्र गतिका बलर नविन उल हकको इनस्वींग बलमा जस बटलर ९ रनमा बोल्ड आउट भएपछि इंग्ल्यान्ड १७.२ ओभरमा ९१–४ को अवस्थामा पुगेको थियो ।

राशिद खानले लियाम लिभिङस्टोनलाई १० रनमा एलबीडब्लू आउट गरे । नाबीको बलमा साम करन एज लागेर स्लिपमा रहमात शाहबाट १० रनमा क्याच आउट भए ।

मुजिबले क्रिस वोक्सलाई ९ रनमा बोल्ड आउट गरेपछि ३३ ओभरमा १६०–७ को दयनीय अवस्थामा पुगेको थियो । इंग्ल्यान्डले लगातार विकेट गुमाउँदा मध्यक्रमका ब्याटर ह्यारी ब्रुकले लगातार रन जोड्दै इंग्ल्यान्डको जितको आशा कायमै राखेका थिए ।

तर ३५ औं ओभरको दोस्रो बलमा ह्यारी ब्रुक मुजिबको बलमा कट बिहाइन्ड आउट भएपछि जितको सम्भावना समाप्त भएको थियो । अफगानिस्तानको जितमा मुजिब उर रहमानले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । राशिद खानले ९.३ ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नाबीले ६ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । नविन र फजलहकले समान एक विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९।४ ओभरमा २ सय ८४ रनमा अल आउट भएको थियो । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ५७ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८० रन बनाए । उनी रन आउट भएका थिए ।

ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले १६.४ ओभरमा १ सय १४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । स्पिनर आदिल राशिदले जो रुटबाट जद्रानलाई २८ रनमा क्याच आउट गराए । मध्यक्रमका ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । आदिल राशिदले रहमात शाहलाई ३ रनमा विकेटकिपर जस बटलरबाट स्टम्पिङ आउट गराएका थिए । जो रुटले हश्मातुल्लाह शाहिदीलाई १४ रनमा बोल्ड आउट गरेका थिए ।

आजमतुल्लाह ओमरजाई १९ र मोहम्मद नाबी ९ रनमा आउट भए । तल्लोक्रमका इक्रम अलीखिलले ६६ बलमा ३ चौका र २ छक्कासहित ५८ रन बनाए । मुजिब उर रहमान १६ बलमा ३ चौका र १ छक्कासहित २८ र राशिद खान २३ रनमा आउट भए ।

इंग्ल्यान्डका आदिल राशिदले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । मार्क वुडले ९ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । रिस टोप्ली, लियाम लिभिङस्टोन र जो रुटले एक एक विकेट लिए ।

इंग्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग ९ विकेटले पराजित भएको थियो । इंग्ल्यान्डले बंगलादेशलाई १ सय ३७ रनले हराएको थियो । इंग्ल्यान्डले अव शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेट र भारतसँग ८ विकेटले हराएको थियो । अफगानिस्तानले अव बुधबार न्युजिल्यान्डसँग खेल्नेछ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>