Breaking News
६१ किलो सुन तस्करी प्रकरण : २५ जना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं, असोज २०-
जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये २५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। अदालतले १ जनालाई भने धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रूकमिना सुब्बालाई ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उक्त प्रकरणमा २९ जनाविरुद्ध मुद्दा चलाइएको थियो। थुनामा पठाइएका २५ आरोपीमध्ये सातजना चिनियाँ छन्।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट ‘ब्रेक शु’सहितको सुन बरामद गरेको थियो। १९ दिन विभागले अनुसन्धान गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई जिम्मा दिएको थियो।
सिआइबीको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले चोरी तस्करी, भन्सार ऐन, नागरिकता ऐन तथा नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा मुद्दा दायर गरेको थियो।


























