Breaking News

यमोशाको दिन पनि विद्यालय खोल्ने शिक्षक महासंघको निर्णय, थाकस चितवनको बिरोध

Banner

चितवन, असोज १७–

नेपाल शिक्षक महासंघ, चितवनले आउँदो असोज २७ र २८ गते बिदाको दिन पनि विद्यालय खोल्ने निर्णय गरेको भन्दै थारु कल्याणकारिणी सभा (थाकस) चितवनले बिरोध जनाएको छ ।

थारु समुदायको चाड यमोश पर्व (पितृ औशी) असोज २७ गते परेकोले सोही दिन विद्यालय खोल्ने निर्णय गर्नु खेदजनक रहेको थाकस चितवनले जनाएको छ ।
थाकस चितवनका सभापति ललित चौधरी र सचिव सन्तकुमार चौधरीले आज एक विज्ञप्ती जारी गर्दै तत्काल यमोशाको दिन विद्यालय खोल्ने निर्णय सच्याउन शिक्षक महासंघलाई ध्यानाकर्षण गराएको छ । उक्त निर्णय नसच्याए थाकस चितवन संघर्षमा जान बाध्य हुने चेतावनी दिएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘थाकसको १३औं जिल्ला अधिवेशनबाट १५ बुँदे भरतपुर घोषणा पत्र जारी गर्दा १० नम्बर बुँदामा थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको जितिया, यमोशा (पितृ औशी), फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वहरुमा बिदा दिइयोस् भन्ने उल्लेख छ । घोषणा पत्र सार्वजनिक गरेको एक साता नबित्दै नेपाल शिक्षक महासंघ जस्तो बौदिक वर्गको संगठनले अध्ययन बिना गरेको यो निर्णय तत्काल सच्याउन माग गर्दछौं, अन्यता थप संर्घषमा उत्रिन बाध्य हुनेछौं ।’

थाकसले चितवन र नवलपुर क्षेत्रका थारु समुदायले परम्पराकालदेखि धुमधामका साथ मनाउँदै आइरहेको जितिया, यमोशा (पितृ औशी), फगुवाको धुरहेरी लगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन संघीय, प्रदेश र स्थानीय सरकारसंगै सम्बन्धित सबै सरोकारवालासंग जोडदार माग गरेको छ ।

शिक्षक महासंघ चितवनले मंगलबार एक विज्ञप्ती जारी गर्दै आउँदो २७ र २८ गते जिल्लाका सबै सामुदायिक विद्यालयमा पठनपाठन गराउन आह्वान गरेको थियो । शिक्षा विधेयकलाई लिएर गरिएको काठमाडौँ केन्द्रित आन्दोलनका कारण गत असोज ४ र ५ गते विद्यालय बन्द भएका कारण विद्यार्थीहरुलाई क्षति हुन नदिन भन्दै बिदाको दिन पठनपाठन गराउन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>