मनोरञ्जन
‘रावायण’ कै लागि सुदर्शनसँगै पूजासँग पनि १० लाख लिएर फर्काएका अनमोल

काठमाडौं, असोज १७-
अभिनेत्री पूजा शर्माले घुमाउरो ढंगले अनमोलप्रति कटाक्ष गरेकी छन् ।
आज (बुधबार) बिहान पूजाले पाथीभरा मन्दिरमा स्क्रिप्टको पूजा गरेको फोटो र भिडियो सार्वजनिक गर्दै निर्माता बचाउनुपर्ने पक्षमा पूजाले अभिव्यक्ति दिएकी छन् । निर्माता तथा निर्देशक सुदर्शन थापाको पक्षमा खुल्दै उनले घुमाउरो ढंगले अनमोलप्रति कटाक्ष गरेकी छन् ।
पूजा लेख्छिन्, ‘अर्कोतिर भीड छ भन्दैमा सत्य मर्दैन । अझै प्रमाणसहित निर्माण पक्ष ठगिएको, धोका पाएको देख्दा पनि बोलेन भने अन्याय नै हुन्छ । यो भोलि जसलाई पनि पर्न सक्छ । कुराले मात्र होइन, व्यवहारले प्रोड्युसर बचाऔं । कोही पनि अन्यायमा नपरोस् । जय नेपाली सिनेमा । यो दिन म कहिल्यै बिर्सन्न पनि । जय पाथीभरा माता ।’
अभिनेता अनमोल केसीले प्रहरीसँग फिल्म ‘रावायण’लाई लिएर आफूलाई स्क्रिप्ट चित्त नबुझेकाले खेल्न अस्वीकार गरेको बताएका थिए । तर, अनमोलले ‘रावायण’का लागि एड्भान्स लिएर रकम फिर्ता गरेको यो दोस्रोपटक हो । यसअघि उनले नायिका तथा निर्मात्री पूजा शर्मासँग पनि रावायणमा काम गर्ने भनेर उनले साइनिङ अमाउन्ट १० लाख नै लिएका थिए । यो चलचित्रको निर्माण पूजाले र निर्देशन सुदर्शन थापाले गर्ने तयारी थियो ।
अनमोलले चलचित्रको तयारीका लागि केही समय मागेका थिए । तर, उनले बिस्तारै मनस्थिति बदले । यसबीचमा पूजा र सुदर्शनले पटक-पटक भेट्न खोज्दा पनि उनले भेटेनन् । अन्ततः चलचित्र गर्न नसक्ने भन्दै पूजासँग लिएको १० लाख फिर्ता गरिदिए । यस विषयमा पूजा असन्तुष्ट भए पनि सार्वजनिकरुपमा केही बोलेकी छैनन् ।
अनमोलले नगर्ने भएपछि पुजा पनि मौन बसिन् । त्यसपछि सुदर्शनले यही नामको चलचित्र विकास बोर्डमा दर्ता गरेर निर्माणका लागि अघि सरेका हुन् । पत्नी सुप्रियालाई उनले निर्मात्री बनाएका छन् । आफैंले निर्माण गर्ने भएपछि सुदर्शनले फेरि अनमोललाई नै अफर गरे । मौखिक समझदारी पनि भयो । तर अनमोल फेरि पनि साइनिङ अमाउन्ट लिएर पछि हटे । स्रोतः नेपाल प्रेस






















