Breaking News

बाघ राख्न न ‘खोर’ न ‘आहार’

Banner

चितवन, असोज १५-

बस्तीमा बाघ निस्कएको खबर चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा बाक्लै आउँछ । अधिकांशले बाघलाई नियन्त्रण गर्न समेत दबाब दिने गर्दछन् । यता निकुञ्ज प्रशासनलाई भने बाघ नियन्त्रण गरेर कहाँ राख्ने भन्ने चिन्ताले नै सताइरहन्छ ।

‘निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ । उनीहरु मानव बस्ती पसिरहेका हुन्छन् । बाहिर आउँदा बितिकै समातेर राखिदिनुप¥यो भन्नुहुन्छ,’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने ‘हामीले ल्याएर राख्ने ठाउँ नै छैन ।’ खोर नहुँदा नियन्त्रणमा राख्नुपर्ने बाघलाई समातेर पुनः जंगलमा छाड्नुपर्ने बाध्यता रहेको  तिवारीले सुनाए ।

‘बस्तीमा पसेर पशुचौपाय तथा मानिसलाई आक्रमण गर्ने बाघलाई समेत समातेर जंगलमै छाड्नुपर्ने अवस्था छ,’ तिवारीले भने, ‘ती बाघहरु पुनः बस्तीमा छिरेर दुख्ख दिइरहेका हुन्छन् ।’

चितवनमा छ वटा खोर छन् । यी सबै भरिएका छन् । यहाँ राख्ने ठाउँ नभएर निकुञ्जले पर्सा, बर्दिया र बाँके पठाएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई बाघमध्ये एउटालाई एक महिना अघि बर्दिया पठाइएको थियो । अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो ।

एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्को बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको थियो । यस्तै अर्को अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ । कच्ची भएकाले ठूलो बाघ राख्न खोर उपयुक्त नभएको तिवारीले बताए । पाँच महिना अघि कुमरोज क्षेत्रबाट नियन्त्रणमा लिएर पर्सा पठाईएको थियो ।

हाल कसरामा सानोसहित चार बाघ छन् । तीमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो । सो भाले बाघ अन्दाजी १० वर्षको छ । गत वर्ष चितवनकै माडीमा आक्रमण गरी मान्छे मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्को देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ । तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ ।

सौराहामा खोरमा दुई बाघ रहेका छन् । तीमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । सो भाले बाघ अन्दाजी चार वर्षको हो । अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

दुई बर्षको बिचमा खोरमा राखेका तीन वटा बाघ मरेका छन् । ‘एउटा सौराहामा खोरमा नै म¥यो, उनले भने ‘एउटा खोरबाट छाडेको केही दिनमा नै जंगलमा म¥यो।’

निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आउने भए पनि ठाउँको अभाव भएको निकुञ्ज प्रशासनले जनाएको छ । यसलाई मध्यनजर गर्दै देवनगरमा खुला खोर निर्माण गर्न लागिएको छ । त्यहाँ दुई वटा बाघ राख्ने मिल्ने गरी खोर बनाउन लागिएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज भित्रका खोरमा बाघ थपिँदा आहारा पु¥याउन कठिन भएको माझि पदमा कार्यरत आइतराम बोटेले बताए ।
‘एउटा बाघले एक पटकमा ३२ केजिसम्म खान्छ भन्नेछ,’ बोटेले भने ‘हामीले एक दिनको फरकमा २० केजि मासु चार वटालाई पु¥याएर दिन्छौँ ।’ उनीहरुलाई बजारबाट पाडाको मासु ल्याएर दिने गरिन्छ । कहिले काही चिकित्सकको सिफारिसमा जंगलमा मरेका चित्तल, हरिणलाई समेत ल्याएर खुवाउने गरिएको उनले बताए । ‘चार वटा भएपछि बाघलाई खुवाउन कठिन छ । हामीले जंगलमा जुधेर मेरका जनावर समेत ल्याएर खुवाउनुपरेको छ,’ उनले भने, ‘एउटा बाघ हुँदा पनि उही थपिँदा पनि त्यती नै आहारा दिनुपरेको छ ।’

बाघको आहारा व्यवस्थापनमा १४ लाख रुपैयाँ खर्च हुने गरेको तिवारीले बताए । बाघले सरदरमा एक हप्तामा एउटा सिकार गर्ने गरेको उनले बताए । ‘बाघलाई हामीले दिएभन्दा बढी दिएपनि खान्छ,’ उनले भने ‘हामीसंग बजेट नहुँदा कम दिने गरेका छौँ।’ बाघलाई खुवाउनको लागि बजेट नभएको उनले बताए । ‘अहिले विभिन्न संघसंस्थाको सहयोगमा मासु किनेर खुवाएका छौँ,’ उनले भने ‘बाघलाई मासु खुवाउनका लागि सरकारले नियमित शिर्षकमै बजेट राख्नुपर्छ ।’

चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ । सन् २०२२को गणना अनुसार यहाँ एक सय २८ वटा बाघ छन् । यो संख्या नेपालकै सबैभन्दा बढी हो । नेपालभर तीन सय ५५ वटा बाघ छन् । चितवन पछि बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ वटा बाघ रहेको तथ्यांक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>