Breaking News

क्यान्सर अस्पताल आएका नयाँ बिरामी मध्ये २० प्रतिशतमा क्यान्सर

Banner

चितवन, असोज १२-
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार गर्न आएका नयाँ बिरामी मध्ये २० प्रतिशतमा क्यान्सर रोग पुष्टि भएको छ ।
हालसालै अस्पतालले प्रकाशन गरेको तथ्यांक अनुसार, सन् २०२२मा ३२ हजार ३१४ जना नयाँ बिरामी ओपिडिमा आएका थिए । त्यसमध्ये मध्ये ६ हजार ४ सय ४६ जनामा क्यान्सर रोग पुष्टि भएको क्यान्सर अस्पतालले जानकारी दिएको छ । क्यान्सर अस्पतालमा अघिल्लो आर्थिक बर्ष १ लाख ६५ हजार ५० जना बिरामी आएका थिए । त्यसमध्ये ३१ हजार बिरामीले आकस्मिक सेवा लिएका छन् । भर्ना भने १० हजार २ सय ७५ जना भएका छन् । ठुलो शल्यक्रिया ४ हजार ८ सय ५० वटा गरिएको अस्पतालले जानकारी दिएको छ । यो अघिल्लो आर्थिक ३ हजार ३ सय बिरामीको ठुलो शल्यक्रिया गरिएको थियो ।

नेपालमा बार्षिक १५ हजारको हाराहारीमा क्यान्सरका बिरामी थपिने गरेको बताइन्छ । तीमध्ये प्रत्येक बर्ष आधाको क्यान्सरका कारण मृत्यु हुने आंकलन गरिएको छ । सुरुवाती चरणमा क्यान्सर लागे पनि थाहा नपाउने र हेलचेक्र्याइँ गर्ने तथा अन्तिम चरणमा मात्र अस्पताल आउंँदा बिरामी बचाउन नसकिएका कारण पनि नयाँ क्यान्सरका बिरामीसँगै मृत्युदर बढेको अनुमान गरिएको छ ।

हाल नेपालमा ९० हजारको हाराहारीमा क्यान्सरका बिरामी रहेको अनुमान छ । तर उपचार गराउन अस्पताल आउने बिरामीको संख्या धेरै कम रहेको छ । उपचार गर्न आउनेमध्ये सबैभन्दा धेरै भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ५० देखि ५५ प्रतिशत बिरामी आउने गरेको बार्षिक प्रतिवेदन समितिका संयोजक डा योगेश रेग्मीले बताए । यहाँ आउने मध्ये सबैभन्दा बढी चितवनका २० हजार २ सय २२ जना बिरामी छन् । त्यसपछि रुपन्देही ९ हजार ६ सय ५८, नवलपुर ७ हजार ४ सय १९, बारा ६ हजार ७१, तनहुँ ५ हजार १ सय ९९ दाङ ४ हजार ९ सय ७७, मकवानपुरका ४ हजार ७ सय ९३ जना छन् । यहाँ आउने मध्ये अधिकांश फलोअपमा आउने बढी छन् ।

सबैभन्दा बढी क्यान्सर बिरामी फोक्सोका

बीपी कोइरालामा आएका बिरामीमध्ये सबैभन्दा बढी फोक्सो क्यान्सरका बिरामी भएको पाइएको छ । सुर्ती तथा मदिराजन्य पदार्थको बढी प्रयोगका कारण अन्य अंंगका क्यान्सरमध्ये फोक्सो क्यान्सरका बिरामी बढी देखिएको डा रेग्मीले बताए ।
‘नेपालमा सुर्ती तथा मदिराजन्य पदार्थको प्रयोग पनि बढेको छ,’ अस्पतालका उनले भने, ‘विषादी छरिएका खाना र प्रदूषणले पनि क्यान्सरका बिरामी बढेका हुन् ।’ फोक्सो क्यान्सरका बिरामी बढी हुने र उपचार पनि जटिल हुने भएकाले मृत्युदर पनि उही अनुपातमा हुने गरेको रेग्मीको भनाइ छ । सन् २०२२मा मात्रै ८ सय ३२ जनालाई क्यान्सर रोग पुष्टि भएको छ । फोक्सोको क्यान्सर हुनेमा महिलाभन्दा पुरुष बढि छन् । ४ सय ४५ जना पुरुषमा फोक्सोको क्यान्सर पुष्टि हुँदा ३ सय ८७ जना महिलालाई देखिएको छ । पुरुषले बढी मध्यपान र धुम्रपान गर्दा क्यान्सर देखिएको चिकित्सकको अनुमान छ ।
फोक्सोको क्यान्सरपछि पाठेघर क्यान्सर ७ सय २० जना, स्तन क्यान्सर ७ सय २ जनालाई देखिएको छ । स्तनक्यान्सर देखिनेमा २३ जना पुरुष पनि रहेका छन् । रक्त क्यान्सर ४ सय १०, आन्द्राको क्यान्सर ३ सय ३७, हड्डी र जोइन्ड क्यान्सर ३ सय १८, पित्त थैलीमा २ सय ७५ जनालाई क्यान्सर भएको छ ।

सबैभन्दा बढी फोक्सो, रक्तक्यान्सर, हड्डी, मुखको क्यान्सर, मुत्रथैली र पेटको क्यान्सर पुरुषलाई देखिएको छ । त्यस्तै पाठेघरको मुखको क्यान्सर, स्तनक्यान्सर, अण्डासय, फोक्सो र पेटको क्यान्सर महिलालाई बढी हुने गरेको छ ।

बालबालिकामा हुने रक्त क्यान्सरको दर पनि बढ्दो

पछिल्ला वर्षहरूमा बालबालिकामा हुने रक्त क्यान्सरका बिरामीहरू पनि बढेका छन् । एक अध्ययानुसार पहिले विश्वमा १० लाख बालबालिकामध्ये १ सय २० जनामा रक्त क्यान्सर देखिन्थ्यो । पछिल्ला वर्षहरूमा १० लाखमध्ये १ सय ४० बालबालिकामा क्यान्सर रोग देखिने गरेको छ । क्यान्सर सरुवा रोग नभएता पनि वंशाणुगत गुण, खानपान र जीवनशैलीका कारण हरेक किसिमका क्यान्सरका बिरामी बढेको बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर शर्माले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>