चितवन विशेष

तिलिचो तालमा खिचिएको पहिलो थारु म्युजिक भिडियो ‘ए हजुर सम्झु नही बिर्सु’ सार्वजनिक (भिडियो)

Banner

चितवन, असोज ६–

पछिल्लो समय थारु भाषाको गीतसंगीत बजारमा आउने क्रम बढ्दो छ । नयाँ–नयाँ प्रविधिको प्रयोगसंगै उत्कृष्ट गन्तव्य र स्थानमा गीतको छायाँकन हुने क्रम बढ्दै गइरहेको छ । नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको मनाङ जिल्लाको तिलिचो तालको दृश्य नेपाली चलचित्र क्षेत्रले उजागर गरि सकेको छ । तर यही मनोरम ठाउँमा पहिलो पटक थारु गीतसंगीतको टिम पुग्न सफल भयो ।

थारु भाषाको गीतले एउटा इतिहास बनाउँदै तिलिचो तालमै छायाँकन गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘ए हजुर सम्झु नही बिर्सु’ बोलको उक्त गीत शुक्रबार साँझ औपचारिक कार्यक्रमकाबीच चितवनमा प्रिमियर गरिएको छ ।

यस गीतमा युवा गायक रविन चौधरी र थारु गीतसंगीतकी चर्चित गायिका समिक्षा चौधरीको आवाज रहेको छ । यस गीतको शब्द हिरा चौधरीले लेखेका हुन् भने रोहित सिंह चौधरीले संगीत भरेका हुन् । गणेश चौधरीले गीतलाइ एरेञ्ज गरेका हुन् ।

यस गीतको भिडियोमा युवा मोडल मनोज चौधरी र नेहा चौधरीले अभिनय गरेका छन् । भिडियोलाई चर्चित निर्देशक हिरा चौधरीले निर्देशन गरेका छन् भने विक्रम चौधरी (म्याडम्याक्स)ले छायाँकन गरेका हुन् । भिडियोको सम्पादन र कलर मिलन विश्वकर्माको रहेको छ । भिडियो प्रिमियर कार्यक्रममा निर्देशक हिरा चौधरीले निकै दुःख कष्ट झेल्दै भिडियो तयार पारिएको बताए ।

तिलिचो अग्लो ठाउँमा भएकाले त्यहाँसम्म पुग्न निर्माण टिमलाई हम्मे हम्मे परेको थियो । स्वास्थ्य अवस्था प्रतिकुल हुँदा हुँदै पनि भिडियो खिच्न सफल भएको बताए । ‘त्यहाँ पुग्दाखेरी नै मलाई ज्वरो आयो, औषधि खाएर पनि हरेश नखाँदै भिडियो खिच्न सफल भयौं’–भिडियो छायाँकनको दिन सम्झदै निर्देशक हिराले भने ।

उनले सबै टिमको मेहनतले उत्कृष्ट र ऐतिहासिक भिडियो बनाउन सफल भएको बताए । मोडल मनोज चौधरीले आफूले दुःख कष्ट सहेरै भिडियोमा अभिनय गर्न सफल भएको बताए । ‘छायाँकन स्थलको बेस क्याम्प पुग्ने वित्तिकै म पनि बिरामी परे, तर हिम्मत् हारिन्, तिलिचो ताल देखेसी झन मलाई भित्रैबाट उर्जा आयो, एउटा सपना पुरा गर्न सफल भइयो’–मनोजले भने ।

उनले थपे–‘एउटा ऐतिहासिक भिडियोमा खेल्ने मेरो इच्छा थियो, त्यो आज पुरा भएको छ ।’ थारु गीतसंगीतहरु थोरै बजेटमा बन्दै आए पनि यस गीतमा निर्माण टिमले आवश्यक खर्च गरेका छन् । भिडियोमा अभिनय गरेकी मोडल नेहा चौधरीले भिडियो राम्रो बनेको भन्दै सबैलाई हेरिदिन आग्रह गरिन् । भिडियोलाई राम्रो बनाउन आफूले सक्दो मेहनत गरेको उनको भनाई थियो ।

कार्यक्रममा चलचित्र निर्देशक तथा सम्पादक सुरेश चौधरी, गायक तथा मोडल रोहित सिंह चौधरी, मोडल वीर चौधरीलगायतले गीतको सफलताको शुभकामना दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>