Breaking News
अब कांग्रेसबाट समयको चेत बुझ्ने सभापति र प्रधानमन्त्री बन्नुपर्छः विश्वप्रकाश शर्मा

काठमाडौं, असोज २-
नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नागरिकमा वितृष्णा बढेको भन्दै समयको चेत बुझ्नेर हाँक्न सक्ने सभापति एवं प्रधानमन्त्री आवश्यक भएको बताएका छन् । केन्द्रीय समिति बैठक बस्नुपूर्व सामाजिक सञ्जालमा लेख्दै शर्माले नवीन आशा र विश्वास दिलाउन सक्ने नेतृत्व स्थापित गर्नुपर्ने बताएका हुन् ।
‘कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्ने ? भन्दा महत्त्वपूर्ण प्रश्न समाजमा असन्तुष्टि किन छ, हामी त्यसमा कति दोषी छौं, वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ ? महासमितिमार्फत् यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ र कांग्रेसलाई पनि ’ शर्माले लेखेका छन्, ‘पार्टी पंक्तिमा ऊर्जा । नागरिकको वितृष्णा चिर्दै नवीन विश्वास । ०८२ मा महाधिवेशन सुनिश्चितता । समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री ।’
कांग्रेस पार्टी र विचार समूहले यिनै विषयलाई अब बहसको विषय बनाएर निष्कर्ष खोज्नुपर्ने शर्मा बताउँछन् । ‘कांग्रेसमा विचार समूहहरू र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमश खोज्नुछ । दलहरूमा फरक विचार र विचार समूह हुनु स्वाभाविक हो । कांग्रेसमा पनि छरछन् । यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ,’ शर्माले लेखेका छन्, ‘तर अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृस्टी निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरूप्रति सजग छुररहनेछु ।’
केन्द्रीय समितिको बैठक ४ असोजमा बस्दैछ । तर बैठकपूर्व नै डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक डाके पनि शर्माले यसमा सहभागिता नजनाउने संकेत गरेका छन् । शेखर पक्षले आज २ बजे हुने छलफलमा सहभागी हुन निम्ता दिए पनि शर्माले नजाने संकेत गरेको एक नेता बताउँछन् ।