Breaking News
आज दर खाने दिन

चितवन,भदौ ४-
महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।
दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन्। भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खिर, ढकने, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ।
दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउँछन्। अचेल दरका नाममा महिना दिनअघिदेखि पार्टी प्यालेसमा पार्टी गर्ने चलन बढेको भन्दै संस्कृतिका अध्येताले चिन्ता व्यक्त गर्ने गरेका छन्।


























