चितवन विशेष
कृषि विश्वविद्यालयमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम

चितवन, भदौ १८-
कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा यु.एस.ए.आइ.डी. कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम शुरु गरिएको छ। भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरुलाई कौशी खेती सम्बन्धी आधारभूत प्राविधिक ज्ञान र सीप दिलाउने अभिप्रायले सो तालिम आयोजना गरिएको हो।
दुई दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा।डा। शारदा थपलियाले सिकाइलाई व्यवहारमा उतार्न सके सहभागी महिलाहरुको पारिवारीक स्वास्थ्य तथा पोषण र सहरी हरियालीमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले तालिम दिएपछि कौशीको निरीक्षण पनि गरिने बताइन्।
विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. कल्याणी मिश्र त्रिपाठीले आफुले उपभोग गर्ने तरकारी बजारबाट किनेर खान सक्नु गौरवको विषय नरहेको बताइन्। ‘हामी बजारबाट तरकारी मात्र होइन, सँगसँगै विष पनि किनिरहेका हुन्छौँ, त्यसलाई कम गर्न पनि सहरी क्षेत्रमा कौशी खेतीको अपरियार्यता छ,’ उनले भनिन्।
कृषि संकायका डीन प्रा.डा.अर्जुन कुमार श्रेष्ठ, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान कृषि संकायका डीन प्रा।डा। होमबहादुर बस्नेत, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा। ऋषिराम कट्टेल र यु।एस।ए।आइ।डी। कृषि उच्च शिक्षा परियोजनाका राष्ट्रिय व्यवस्थापक डा। केशव प्रसाद प्रेमीले शहरी क्षेत्रमा कौशी खेतीको महत्व, कौशी खेती सम्बन्धमा विश्वस्तरमा विकास भएका अनुकरणीय पद्धति तथा प्रविधिहरुको विषयमा जानकारी गराएका थिए। उनीहरुले आगामी दिनमा यस सम्बन्धमा समुदाय र विश्वविद्यालय बीचको साझेदारी कायम रहनुपर्ने बताए।
निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा उक्त तालिमका संयोजक डा। निराजन भट्टराईका अनुसार तालिममा भरतपुर महानगरपालिका अन्तर्गतका नारायणगढ र भरतपुर क्षेत्रमा बसोबास गर्ने ३० जना गृहिणी महिलाहरुको सहभागिता रहेको छ। ‘तालिममा कौशी खेतीको परिचय, स्थान छनौट, नर्सरी व्यवस्थापनका समस्या र समाधान, माटो व्यवस्थापन, मल र विषादीको असर, प्राङ्गारिक मलका स्रोतहरु, माटो चढाउने, टेका र थाँक्रा दिने, गोडमेल छापो र मल्चिङ्ग, काटछाँट, रोग कीरा व्यवस्थापन र आई पि एम विधि, बोकासी मल बनाउने विधि, घरेलु विषादी बनाउने विधि, इ।एम। २ बनाउने विधि, पोलि ब्याग र प्रो ब्यागमा माटो राख्ने विधि लगायत विषयहरु बारे छलफल र सामुहिक अभ्यास गराइने छ,’ निर्देशक भट्टराईले भने। तालिम अवधिभर कौशी खेती, बाली बिरुवाको एकीकृत रोग किरा व्यवस्थापन, नर्सरी व्यवस्थापनलगायतका विषयमा लामो समय अनुभव संगालेका प्रशिक्षकहरु लेखनाथ पोख्रेल र तुलसा ज्ञवालीले सहजीकरण गर्ने भट्टराईले बताए।

























