Breaking News

एसिया कप क्रिकेटः नेपालले आज भारतको सामना गर्दै

Banner

काठमाडौँ,भदौ १८-

एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो । आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५ औँ वरीयतामा रहेको राष्ट्र हो । यसका अतिरिक्त भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । भारत दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन पनि हो ।

१६औं एसिया कपमा यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान पछिल्लो आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा रहेको राष्ट्र हो । नेपाल र भारतबीचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । हाल समूह ‘ए’ तालिकामा दुई खेल खेलेको पाकिस्तान चार अंकसहित पहिलो स्थानमा छ । पाकिस्तान र भारतबीच शनिबार खेलिएको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

तालिकामा एक अंकसहित भारत दोस्रो स्थानमा आसिन छ । तेस्रो स्थानमा रहेको नेपालले भने हालसम्म खाता खोल्न सकेको छैन । त्यसैले सोमबार हुने नेपाल र भारतबीचको खेल दुबै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ । पाकिस्तान यसअघि नै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । अब समूह ‘ए’ बाट नेपाल र भारतमध्ये एक टोलीमात्र ‘सुपर फोर’ चरणमा पुग्नेछ । प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई—दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ ।

यस्तो स्थितिमा सोमबारको खेलमा दुबै टोली ‘गर वा मर’ को स्थितिमा हुनेछन् । सामान्यतः उक्त खेलमा जुन टोली विजयी हुन्छ त्यो सहजै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ । तर, सोमबार हुने नेपाल र भारतबीचको खेल पनि वर्षाले विथोल्ने प्रबल सम्भावना देखिएको छ ।

मौसम विभागका अनुसार, केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रहेको स्थानमा सोमबार विहान ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ । त्यसैले रंगशालाको आउट फिल्ड सुक्न पनि केही समय लाग्नेछ । तर, नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार, ३ः१५ बजे सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>