चितवन विशेष
साप्ताहिक सञ्जालको अध्यक्षमा सूर्य बराल सर्वसहमत चयन

चितवन, भदौ १६-
साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा सूर्य बराल अध्यक्ष चयन भएका छन् । भरतपुर २९ भतेरीमा सम्पन्न सञ्जालको प्रथम अधिवेशनले सूर्य बरालको नेतृत्वमा ९ सदस्य नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको हो । जसको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सह–सचिवमा बबिलाल तामाङ, कोषाध्यक्षमा हरि कार्की ’लक्की’ र प्रवक्तामा नबिन बाबु मरहठ्ठा सर्वसहमत चयन भएका हुन् ।
यस्तैगरी सदस्यमा रामेश्वर रिजाल, हरिप्रसाद उप्रेती ‘भुवन’ छन् भने बाँकी दुई सदस्य कार्यसमितिको पहिलो बैठकबाट चयन गरिने चयन अध्यक्ष बरालले जानकारी दिए । अधिवेशनको उद्घाटन गर्दैै प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले साप्ताहिक पत्रिका नेपाल पत्रकारिताको जननी भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताए । उनले बढ्दो सूचना प्रविधिको विकाससगैँ साप्ताहिक पत्रिकाको प्रयोगमा केहि कम देखिए पनि यसको महत्व र उपयोगिता महत्वपूर्ण रहेको स्पष्ट पारे । उनले साप्ताहिक पत्रिकाको प्रर्वद्धनमा केन्द्र, प्रदेश र स्थानिय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरि अधिकारीले साप्ताहिक पत्रिकाको संरक्षणमा सबै पक्ष अग्रसर हुनुपर्ने बताए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य शान्ता अधिकारीले साप्ताहिक पत्रिकाको विकास र प्रर्वद्धनमा नयाँ रणनीतिका साथ लाग्नुपर्ने धारण राखिन् ।
निर्वाचित भएसगैँ अध्यक्ष बरालले साप्ताहिकको विकासमा आफु कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाए । साथै उनले सञ्जालको शाखा देशभरि नै विस्तार गर्ने उद्धघोष गरे । साप्ताहिक सञ्जाल नेपाल–चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । तिमिल्सिनाकै नेतृत्वले २०७८ साल मंसिर ८ गते जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता गरेको थियो ।
४ युवा पत्रकारलाई ’युवा पत्रकार सम्मान २०८०’
सोही अवसरमा ४ जान साप्ताहिक पत्रिकामा काम गरेका युवा पत्रकारलाई ’युवा पत्रकार सम्मान २०८०’ बाट सम्मानित गरिएको थियो । युवा पत्रकार टेकराज पोख्रेरल (आन्नद), सुरेन्द्र कुवँर (सुरेन), हिरालाल गुरुङ्ग र सरोज उपकोटीलाई ’युवा पत्रकार सम्मान २०८०’ बाट सम्मान गरिएको छ ।
कार्यक्रममा भरतपुर महानगर वडा नं. २९ वडा अध्यक्ष सूर्य बहादुर गुरुङ्ग, नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन नेपाल चितवनका अध्यक्ष अनिल ढकाल, राजधानी आस्थाका संचालक नवराज ढकालले मन्तव्य दिएका थिए ।
























