Breaking News
माधवजी निर्दोष सावित हुनुभयो,सधैंको टेन्सन सकियोः प्रधानमन्त्री प्रचण्ड

पोखरा,भदौ १५-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार काण्डमा निर्दोष साबित भएको बताएका छन्। शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपाल निर्दोष साबित भएको दाबी गरेका हुन्।
‘माधवजीको बारेमा के हो कसो हो भनेर आइराख्यो। पहिलोचोटी उहाँ निर्दोष हो भन्ने सावित भयो। औपचारिक ढंगले नै सावित भयो। अब प्रश्न उठाउने ठाउँ रहेन। किनकी सीआइबीले के हो भनेर पनि बयान लियो, बयान लिएर निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैंको टेन्सन सकियो। माधवजीलाई टेन्सन भए मात्रै हुन्थ्यो त्यो टेन्सन मलाई पनि थियो। किनकी हामी एउटै ठाउँमा थियौं। दोषी गइरहेका छन्। निर्दोष छुटिरहेका छन्,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले सरकार पाँच वर्ष टिक्ने दाबी गरे। ‘म प्रधानमन्त्री हुँदा एक महिने कि भन्ने थियो। ८ महिना बितिसक्यो। गर्दै जाँदा वर्ष बित्छ जस्तो देख्छु मैले। यो गठबन्धन पाँच वर्ष जान्छ। सरकारले यो लडाइँलाई अन्तिम निष्कर्षमा पुर्याउँछ,’ उनले भने।


























